सडक मार्गको वर्तमान अवस्था

सडक मार्गबाट कर्णाली करिडोरमा पर्ने गन्तव्यसम्म पुग्नु रोमाञ्चक यात्रा हो ।

कर्णाली राजमार्गको सुर्खेतबाट दैलेख, कालिकोटको मान्म हुँदै जुम्लासम्म पक्की सडक पुगेको छ ।

त्यस्तै जुम्लाबाट पतरासी, खालीचौर हुँदै बुलबुलेमा सिञ्जाबाट आएको बाटामा मिसिँदै रारा तालनजिकको सल्लेरीसम्म जिपमा पुग्न सकिन्छ ।

यस्तै कर्णाली राजमार्गबाट कालिकोटको मान्मबाट नाग्म, सिन्जाको अफरोड हुँदै रारानजिकको सल्लेरी भन्ने ठाउँसम्म पुग्न सकिन्छ ।

कर्णालीको राजधानी सुर्खेतबाट दैलेख, कालिकोटको खुलालुसम्म कर्णाली राजमार्ग हुँदै गई, त्यसपछि खुलालु हँुदै अफरोड पुल तरी धुलिचौर पुगेर त्यहाँबाट मसिनेसम्म जिपमा गई रारा निकुञ्ज क्षेत्रभित्रको जंगलमा पदयात्रा गर्दै रारा तालसम्म पुग्न सकिन्छ ।

हाल कर्णाली करिडोरमा सुर्खेत, दैलेख, कालिकोट, बाजुरा, मुगु हुँदै हुम्लाको चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सल्लीसल्लास्थित कर्णाली नदीमाथि ४८.७६ मिटर लामो र ४.२० मिटर चौडा बेलिब्रिज जडान भई दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।

समयमै, सल्लीसल्लाको बेलिब्रिज बनेकाले यसै आर्थिक वर्ष (०८०–८१) मा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने गरी नेपाली सेना र सिमकोट सडक आयोजनाको सम्पूर्ण टिम लागिपरेकोे छ ।

माथि चिनियाँ सीमा हिल्साबाट कच्ची सडक हिल्सा–यारी–यलबाँड–सल्लीगाड हुँदै हुम्लाको सिमकोट सदरमुकामसम्म पुगिसकेको छ ।

हाल, दुईवटा चाइनिज बस स्थानीय निजी व्यवसायीले यस रुटमा चलाएका पनि छन् ।

सहज र सुलभ यातायात र पर्यटन व्यवसायको गहिरो सम्बन्ध हुन्छ । विश्वभरि प्रत्येक देश आफ्नो जल, थल र हवाई मार्गको विकास र विस्तारमा दिनरात लागिपरेको हुन्छन् ।

छिमेकी राष्ट्र भारतले यस वर्ष देशभरि १२ हजार पाँच सय किलोमिटरको हाइवे सडक निर्माणको लक्ष्य राख्दै प्रत्येक दिन ३४ किलोमिटर हाइवे सडक निर्माण गरिरहेको छ ।

प्रत्येक पाँच लाख जनसंख्या भएका साना सहरका लागि ठूला बोइङ उत्रिन सक्नेसम्मका हवाई अड्डा बनाउने योजनासहित काम अघि बढाइएको छ ।

यातायात र पर्यटन व्यवसायको देश विकासमा प्रत्यक्ष सम्बन्ध भएकाले यस क्षेत्रको विकासले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ ।

सडक यातायातभन्दा पनि पर्यटकलाई विभिन्न हिमाली गन्तव्यसम्म पुग्न छिटो र सहज हवाई मार्ग नै हो ।

त्यसैले, पर्यटकलाई नयाँ–नयाँ गन्तव्यमा भ्रमण गराउने, थप पर्यटकीय गतिविधि बढाउने कार्यसँगै स्थानीयवासीको आवागमन र स्थानीय उत्पादनको ओसारपसारबाट समग्र देशकै आर्थिक गतिविधि बढ्नेमा द्विविधा छैन ।

साना जहाज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली गन्तव्यको मात्र आवश्यकता होइन ।

पूर्वी नेपालको विराटनगर र चन्द्रगढी हवाई अड्डाबाट पनि हिमाली गन्तव्य लुक्ला, सगरमाथातिर जान तथा सुकेटार (ताप्लेजुङ) बाट पाथीभरा मन्दिर र कञ्चनजंघा बेसक्याम्प आदि स्थलतर्फ जान पनि साना जहाज नै आवश्यक छ ।

त्यसैले, नेपाल वायुसेवा निगमले हाल अघि बढाएको तीनवटा ट्विनअटर जहाज खरिदकार्य यथाशीघ्र कार्यान्वयन होस् ।

यसले हिमाली भेगका गन्तव्यमा पर्यटक आवागमन बढाउनुका साथै कर्णाली प्रदेशलगायत अन्य हिमाली भेगका जनताको आवागमनमा सहजता थप्न सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *