हाल कर्णालीमा रहेका सम्पूर्ण आन्तरिक हवाई अड्डा, सुर्खेत, हुम्ला, डोल्पा, मुगु, जुम्ला, रुकुम (पूर्वी रुकुम) का रनवे कालोपत्रे भई हवाई सेवा सञ्चालन भइरहेको छ ।
चौरजहारी हवाई अड्डा (पश्चिम रुकुम) र मसिनेचैर हवाई अड्डा (डोल्पा), हाल सञ्ञ्चालनमा छैनन् ।
साथै कालिकोटको नयाँ विमानस्थल बनिसकी सञ्चालनको क्रममा छ । देशमा नयाँ हवाई अड्डा निर्माण कार्यसँगै निजी हवाई सेवा दिने कम्पनीको संख्या बढे पनि दुर्गम क्षेत्रमा निजी क्षेत्रको हवाई सेवा सुचारु भएको पाइँदैन ।
हाल नेपाल वायुसेवा निगमसँग भएका दुइटा ट्विनअटरमध्ये एक मात्र जहाज उड्ने स्थितिमा छ ।
नेपाल वायुसेवा निगमको एउटा जहाज र केही निजी क्षेत्रका जहाज कम्पनी तारा, समिट, सीता, अल्टिटुड आदिले १८ सिटर जहाजबाट मात्र कति पर्यटक कर्णाली पुर्याउलान् ?
यो परिस्थितिले समग्र कर्णाली प्रदेशलाई हवाई यातायातबाट संकुचित बनाएकोजस्तो अवस्था देखिन्छ ।
कर्णाली प्रदेशका गन्तव्यमा पर्यटन गतिविधिका प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटकलाई त्यहाँ पुर्याउन केही गर्न नसकिएको अवस्था छ ।
त्यस्तै अवस्था सुदूरपश्चिम प्रदेशको पनि छ । त्यहाँका पहाडी आकर्षक गन्तव्य खप्तड, अपी, सैपाल हिमाल बेसक्याम्प आदिका लागि धनगढीबाट चैनपुर (बझाङ) र कैलाश मानसरोवर यात्राका लागि सिमकोट (हुम्ला) सम्म पुग्न जहाज सेवा नै उपलब्ध नभइरहेको अवस्था छ ।
यसबाट एउटा ठूलो धार्मिक एवं साहसिक पर्यटन बजारको यस भेगमा विस्तार हुन सकिरहेको छैन ।
त्यस्तै अवस्था लुम्बिनी प्रदेशको नेपालगन्ज एयरपोर्टबाट सिमकोट (हुम्ला), डोल्पा, राराजस्ता महŒवपूर्ण गन्तव्यमा जान पनि साना जहाजको संख्या पर्याप्त छैन ।
सगरमाथातिर जाने पर्यटक सिजनमा त एउटा पनि जहाज पश्चिम नेपालका एयरपोर्टमा पुग्दैनन् ।
देशका निजी हवाई सेवा कम्पनीलाई प्रमुख ठूला सहरमा ठूला जहाज चलाउँदैमा भ्याई–नभ्याईको अवस्था छ ।
हवाई क्षेत्रको यथार्थबारे हाम्रा पर्यटन व्यवसायीलाई थाहै छ । त्यसैअनुरूप देशभित्रका सीमित गन्तव्य घुम्ने योजनाका भरमा हाम्रो पर्यटन क्षेत्र चलिरहेको छ ।
मर्काचाहिँ दुर्गमका स्थानीय वासिन्दामाथि परिरहेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आर्थिक अवस्था सुदृढ नभएसम्म थप सेवा विस्तार गर्न सकिने अवस्था छैन भन्ने मात्र विगतदेखि नै सुिनँदै आएको छ ।