२०२३ मा विश्वभर विद्युतीय कार बिक्री ३१ प्रतिशतले बढ्यो

२०२३ मा विश्वभर विद्युतीय कारको बिक्री उल्लेख्य रुपमा बढेको छ। अघिल्लो वर्षको तुलनामा विश्वभर विद्युतीय कारको बिक्री २०२३ मा ३१ प्रतिशतले बढेको हो।

तर २०२२ को तुलनामा बिक्रीदरको वृद्धि भने घटेको मार्केट रिसर्च फार्म ह्रो मोसनले जनाएको छ।

‘बिक्रीदरको वृद्धि केही कम भएपनि अपेक्षाकृत रुपमा विद्युतीय सवारीको वृद्धि भने २०२३ मा पनि देखिएको छ,’ ह्रो मोसनले भनेको छ, ‘विद्युतीय सवारीको बिक्रीदर वृद्धि हरेक वर्ष दोबर नहुन सक्छ।’

ह्रो मोसनले २०२३ मा विद्युतीय सवारीको बिक्री वृद्धि ३० प्रतिशत हाराहारी हुने अनुमान गरेको थियो।

२०२४ मा पनि विश्वभर विद्युतीय सवारीको बिक्री वृद्धि २५ देखि ३० प्रतिशत हुने प्रक्षेपण ह्रो मोसनले गरेको छ।

२०२३ डिसेम्बरमा विश्वभर वर्षभरीको सबैभन्दा धेरै विद्युतीय सवारी बिक्री भएको थियो।

डिसेम्बर महिनामा मात्र विश्वभर १५ लाख विद्युतीय सवारी बिक्री भएको ह्रो मोसनले जनाएको रोयटर्सले लेखेको छ।

ईभी (ब्याट्रीमा आधारित र हाइब्रिड)को कुल बिक्री १ करोड ३६ लाख वटा बिक्री भएको हो।

जसमध्ये ब्याट्रीमा आधारित पूर्णविद्युतीय सवारी ९५ लाख वटा बिक्री भएको थियो भने बाँकी हाइब्रिड र प्लग इन हाइब्रिड बिक्री भएको थियो।

विश्वभर उपलब्ध विद्युतीय सवारीहरु महँगा र धेरैजसो ठूला छन्। मास मार्केटका लागि अझैपनि विद्युतीय सवारी आइसकेका छैनन्।

त्यसैले युरोपलगायत केही बजारमा विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढेपनि अन्यत्र धिमा गतीमै विद्युतीय सवारी बिक्री गइरहेको छ।

ठूला सवारी उत्पादकले पनि मास मार्केटका लागि सुहाउँदो मोडल आउन अबको दुईदेखि ३ वर्ष लाग्ने बताएका छन्। त्यसैले पनि विद्युतीय सवारीको बिक्री अत्याधिक रुपमा बढ्न नसकेको हो।

ब्याट्रीमा आधारित विद्युतीय सवारीको बिक्री अमेरिका र क्यानडामा ५० प्रतिशतले बढ्दा युरोप र चीनमा क्रमशः २७ र १५ प्रतिशतले बढेको तथ्यांक छ।

युरोपमा २०२३ मा बिक्री भएका विद्युतीय कारमध्ये ८ प्रतिशतमात्र साना आधारका कार थिए।

विद्युतीय कारको बिक्री नेपाली बजारमा पनि उल्लेख्य रुपमा बढेको छ।

सरकारले विद्युतीय सवारीमा आईसी इन्जिनको तुलनामा कम कर लगाएको, दुई वर्षअघि आईसी इन्जिन कारको आयातमा प्रतिबन्ध लगाएको र त्यसयता अटोमोबाइलमा जाने कर्जामा कडाइ गरेको(ईभी बाहेक)ले विद्युतीय सवारीको बिक्री बढेको हो।

हाल नेपालमा बिक्री भइरहेको कुल प्यासेन्जर कारमध्ये करिब ६५ प्रतिशत हिस्सा विद्युतीयको पुगेको व्यवसायीहरुले बताएका छन्।

नेपाली बजारमा भारत, चीन, युरोपलगायत देशबाट विद्युतीय कार आयात भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *