रुसको बेल्गोरोडमा युक्रेनी आक्रमण

युक्रेनले रुसको सीमावर्ती सहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्ट भवनमा क्षति पुगेको छ।

बेल्गोरोड क्षेत्रका गभर्नर ब्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा युक्रेनले शुक्रबारदेखि निरन्तर रुसका अन्य सहरमा जस्तै बेल्गोरोडमा पनि आक्रमण गरिरहेको बताएका छन्।

‘मृतकको संख्या २१ पुगेको छ, जसमध्ये तीनजना बालबालिका रहेका छन्। घटनामा १७ बालबालिकासहित एक सय १० जना घाइते भएका छन्।

अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, तीन सय ४४ वटा अपार्टमेन्ट, तीनवटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लेखेका छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड र सो क्षेत्रमा युक्रेनको सशस्त्र बलले शुक्रबार र शनिबार गोलाबारी गरेको थियो।

युद्धसामग्रीको साथ दुई रकेटहरू र एक बहुप्रक्षेपण रकेट प्रणालीबाट सहरको केन्द्रमा आक्रमण गरेको बताइएको छ।

मन्त्रालयले शनिबार हवाई प्रतिरक्षा प्रणालीले रकेट र अधिकांश गोलालाई रोकेको र शुक्रबार राति बेल्गोरोड क्षेत्रको भूभागमा १३ वटा रकेट नस्ट गरेको जनाएको छ।

त्यस्तै, युक्रेनको सुरक्षा सेवाको अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी स्थानीय सञ्चारमाध्यमले युक्रेनी सेनाले बेल्गोरोड क्षेत्रमा रहेको रुसी सैन्य शिविरमा आक्रमण गरेको जनाएको छ।

युक्रेनका सहरहरूमा रुसी क्षेप्यास्त्र आक्रमण र सर्वसाधारणको हत्याको परिणामस्वरूप युक्रेनको रक्षा बलको संयुक्त गतिविधि जारी रहेको स्रोतले जनाएको छ।

शुक्रबार रुसले युक्रेनमा हवाई आक्रमण गर्दा ३० जनाको मृत्यु हुनुका साथै एक सय ६० जना घाइते भएको युक्रेनी अधिकारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *