यसैगरी जोमसोम—कोरला सडकखण्डअन्तर्गत लोमान्थाङ—कोरला सडकमा पर्ने आयोजनाका चार पक्की पुल निर्माण पनि अन्तिम चरणमा छन्।
पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलामा निर्माणाधीन पुलहरू यातायात आउजाउ गर्ने मिल्ने गरी सञ्चालनमा आएको आयोजनाले जनाएको छ।
यी चारवटै पुल २०७६ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अवधि २०८० साल असोज ३० गतेसम्म रहेको लोमान्थाङ—कोरला चार पुलको काम म्याद सकिएको दुई महिनापछि यातायात सञ्चालनका लागि योग्य भएको हो।
चार वटै पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशतभन्दा माथि रहेको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिए।
लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोला पुल निर्माणको जिम्मा मुक्तिनाथ अमित जेभीले लिएको थियो।
भौगोलिक विकटताका बाबजुद निकै द्रुत गतिमा पुल निर्माण सुरु गरेको कम्पनीले सन्तोषजनक रूपमा भौतिक प्रगति गरेको आयोजनाको भनाइ छ।
यातायात सञ्चालनमा आएको एक स्पान रहेको २० मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख, २ स्पानको ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख, २ स्पानकै ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र २ स्पानको ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ छ।
राष्ट्रिय गौरवको सडकअन्तर्गत उपल्लो मुस्ताङमा चार पुल एकैसाथ सञ्चालनमा आएपछि बर्खायामको मौसममा कोरलानाका प्रस्थानका लागि यातायातका साधनलाई निकै सहज हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।
राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत यसअघि पाँच पुल निर्माण सम्पन्न भइसकेको कालीगण्डकी करिडोर सडक आयोजनाले बताएको छ।
निर्माणको अन्तिम चरणमा रहेका पाँच वटा सम्पन्न भएमा कोरला सडकमा १० पुल सम्पन्न हुनेछन्।
यसअघि म्याग्दीको घट्टेखोला पुल, राहुघाट खोला पुल, मुस्ताङको लेते खोला पुल, पान्डा खोला पुल र स्याङ खोला पुल आयोजनालाई हस्तान्तरण भइसकेको छ।