काठमाडौं- भारतले कार सुरक्षा परीक्षणमा आफ्नै मापदण्ड कार्यान्वयन ल्याएर गरेको परीक्षणमा फाइभ स्टार रेटिङ पाउने पहिलो कार टाटा मोटर्सका ह्यारियर र सफारी बनेको छ। गत भदौमा भारतले आफ्नै ‘भारत एनसीएपी’ परीक्षण सुरू गरेको थियो।
कार कति सुरक्षित छ भनेर परीक्षण गर्न संसारभर विभिन्न विधिहरू प्रयोगमा रहेका छन्।
विभिन्न देशहरूले आफ्नो देशमा उत्पादन भएका तथा आयातित कारको सुरक्षा परीक्षण गर्न आ-आफ्नो स्ट्यान्डर्ड तय गरेका छन्।
यस्तैमा भारतमा पनि आफ्नै ‘भारत एनसीएपी’ तय गरेको हो। भारत एनसीएपी अक्टोबर १ मा परीक्षण गरि सार्वजनिक हुने योजना बनाएपनि केही ढिलोगरि परीक्षण सुरू गरेको हो।
पहिलो चरणमा भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेका कारको परीक्षण गरिएको हो। भारत एनसीएपीमा टाटा ह्यारियर र सफारी एसयूभीले फाइभ स्टार रेटिङ पाएका हुन्।
अब भारतीय कार निर्माताहरूले भारत एनसीएपीमै आधारित रहेर कारको सुरक्षा रेटिङ गराउनु पर्नेछ। उनीहरूले यसका अलावा ग्लोबल एनसीएपीमा समेत परीक्षण गराउन सक्नेछन्।
भारत एनसीएपी कार्यान्वयन हुने तय भएसँगै यहाँका मुख्य कार निर्माताहरूले नयाँ प्रणालीको स्वागत गरेका थिए।
भारतीय कार निर्माताहरू मारुती सुजुकी, टोयोटा मोटर, टाटा मोटर्स, महिन्द्रा, स्कोडा तथा कियाले ‘भारत एनसीएपी’को यसअघि नै स्वागत गरेका थिए।
भारत एनसीएपीमा टाटा ह्यारियर र सफारी दुवैले बयस्क सुरक्षामा ३२ अंकमा ३०.०८ पाएका हुन् भने बालबालिका सुरक्षामा ४९ अंकमा ४४.५४ अंक पाएको टाइम्स अफ इन्डियाले लेखेको छ।
टाटा मोटर्सले उत्पादन गरेका एसयूभीहरूमा सुरक्षा विशेषतालाई विशेष प्राथमिकता दिइएको छ। टाटाको ह्यारियर नेपाली बजारमा एच फाइभ नाममा र सफारी उपलब्ध हरेका छन्।
नेपाली उपभोक्ता माझ लोकप्रिय रहेको नेक्सनले यसअघि ग्लोबल एनसीएपीमा फाइभ स्टार रेटिङ पाएको थियो।
भारत एनसीएपीले भारतमा बनेका र भारतीय सडकमा कुद्ने कारको सुरक्षा परीक्षण गर्नेछ।
भारतमा बनेका र अन्यत्रबाट आयात गरिएका कारहरूले स्वेच्छिक रुपमा सुरक्षा परीक्षण गराउन सक्नेछन्।
भारत एनसीएपी अटोमोबाइल इन्डस्ट्री स्ट्यान्डर्ड (एआईएस)-१९७ मा आधारित रहेर तय गरिएको हो।
भारत एनसीएपी कार्यान्वयनमा आएसँगै भारतमा बनेका कारको सुरक्षा सुधारमा सहयोग पुग्न विश्वास कार उत्पादकहरूले गरेका छन्।
टाटा मोटर्स र महिन्द्राका भारतमै उत्पादित अधिकांश कारले यसअघि ग्लोबल एनसीएपीमा फाइभ स्टार रेटिङ पाएका छन्।
भारत एनसीएपी अन्तर्गत सुरक्षा परीक्षण विभिन्न सिनारियोका आधारमा हुने र त्यसको रेटिङ एकदेखि पाँचसम्ममा तय हुनेछ।
क्रास टेस्ट फ्रन्टल, साइड र पोल-साइडको परीक्षण ६० किलोमिटर प्रतिघण्टाको गतिमा हुनेछ।
अन्य एनसीएपीमा जस्तै भारत एनसीएपीमा पनि सवारी, एडल्ट तथा चाइल्ड सेफ्ट सूचकांकहरूको अलग अलग परीक्षण हुनेछ।
Post Views: 233