घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता ।
घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ ।
बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको हो ।
गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । नेकपा माओवादी केन्द्रको वडा कमिटीले सुरु गरेको श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गर्ने क्रम जारी छ ।
एक एक ट्र्याक्टर बालुवा, गिट्टी र २० बोरा सिमेन्टबाट सुरुआत भएको पदमार्ग बनाउने अभियानमा अहिलेसम्म १३ लाख बढी नगद सहयोग जुटिसकेको पदमार्ग निर्माणका अभियान्तासमेत रहेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए ।
पदमार्ग निर्माण योजना अहिले सबैको साझा अभियान बनेको छ ।
यो योजनालाई सरकारी तवरको कुनै बजेट बिनै समुदायको साथ, सहयोग र सहकार्यको नमूना कार्यको रुपमा स्थानीयले पूर्णताः दिने जमर्को गरेका छन् ।
पदमार्ग बनाउन स्थानीयवासीले एक दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन् भने अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भइसकेको छ ।
माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ ।
सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन् ।
दसैँ र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन् ।