बीवाईडी अटोको भूकम्प सहायता कोष

नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले जाजरकोट र रुकुमपूर्वका भूकम्प प्रभावितहरुका लागि भूकम्प सहायता कोष सुरु गरेको छ ।

कम्पनीले प्रत्येक गाडीको बिक्री र बुकिङबाट प्राप्त हुने रकमबाट निश्चित रकम भूकम्प प्रभावितहरूका लागि छुट्याउने गरी गाडी बिक्रीको स्किमसहित कोष सञ्चालन गरेको हो ।

कोषमा यही मंसिर २३ गतेसम्म बिक्री र बुकिङ हुने गाडीबाट प्राप्त रकमको केही अंश जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बीवाईडी डल्फिन बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी एटो थ्री बुक गरेमा २० हजार रुपैयाँ भूकम्प सहायता कोषमा जम्मा हुने छ ।

३९ लाख ८० हजार रुपैयाँ मूल्य रहेको डल्फिन गाडीमा १० हजार र ६५ देखि ८१ लख रुपैयाँसम्म पर्ने एटो थ्रीमा २० हजार रुपैयाँ छुट्याउने कम्पनीको योजना छ ।

तर, स्किम अवधिमा कुनै गाडी बिक्री वा बुकिङ हुन नसके कोष खाली हुने अवस्था पनि देखिन्छ ।

‘अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ,’ साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने ।

उनले बुकिङ भएका गाडीबाट जम्मा भएको रकमले भूकम्प पीडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको स्पष्ट गरेका छन् ।

अध्यक्ष श्रेष्ठले अगाडि भने, ‘यो कठिन समयमा हामी जाजरकोट र रुकुम पूर्वका सहनशील गाउँ समुदायको साथमा छौँ ।

भूकम्प प्रभावितहरूप्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुन: निर्माण प्रक्रियामा समर्थन हामी सबैको जिम्मेवारी हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *