सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १०बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ ।

चाडबाडका वेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौं उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ ।

जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ–छैन यकिन गर्न र सकेसम्म साइरनजडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ ।

यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्डलगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अंकको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।

लंगुरबुर्जा, तास, जुवालगायतका हारजित हुने खेल खेल्दा उठिवास हुन सक्नेतर्फ सचेत बन्न, मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

उपत्यका प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *