नागढुंगा सुरुङमा भ्वाङ परेपछि काम ठप्प

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा काठमाडौंतर्फ निर्माणस्थल चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा भ्वाङ परेपछि एक सातादेखि काम ठप्प छ ।

निर्माणका क्रममा रहेको सुरुङको मुखबाट ८३ मिटर पर बाहिरी जमिनमा भ्वाङ परेपछि स्थानीयले काम गर्न रोकेका छन् ।

सुरुङबाहिर भ्वाङ देखिएपछि स्थानीयले उचित मुआब्जासहित आसपासका घर स्थानान्तरणको माग गरिरहेका छन् ।

यस क्षेत्रमा अहिले ९ घर प्रभावित भएकाले स्थानान्तरण र मुआब्जा नदिएसम्म काम गर्न नदिने स्थानीयको चेतावनी छ ।

लामो समयसम्म काम रोकिएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरोकारवाला निकायको उपस्थितिमा शुक्रबार मन्त्रालयमा प्रभावित घरलाई तत्काल अस्थायी स्थानान्तरण गर्ने र भ्वाङ परेको ठाउँमा भूगर्भविद्सहितको विज्ञ टोलीद्वारा अध्ययन गर्ने सहमति भएको थियो ।

सुरुङ निर्माणस्थलमा कसरी भ्वाङ पर्‍यो, कति घर चर्किएका छन्, त्यसको कारण पत्ता लगाउन र पीडितलाई स्थानान्तरणको व्यवस्था गर्न सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीको नेतृत्वमा समिति गठन गरिएको छ ।

छलफलमा मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय भए पनि स्थानीयले शनिबार विज्ञसहित गएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको टोलीलाई काम अघि बढाउन दिएनन् ।

उनीहरूले प्रभावित घरलाई स्थानान्तरण र मुआब्जा नदिएसम्म काम गर्न नदिने जनाएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जनाए ।

‘दसैं आइसक्यो, एकदुई दिन भए पनि काम हुन्छ, अहिले काम गर्न दिनू, तपाईंहरूको माग सम्बोधन गर्न मन्त्रालयमा भएको छलफलबाट सहमति भइसकेको छ भन्दा पनि स्थानीयले अवरोध गरिरहे,’ उनले भने, ‘पटक/पटक फिल्डमा गएर आग्रह गर्दा पनि स्थानीयले नदिएपछि काम रोकिएको छ ।’

भ्वाङ परेको ठाउँलाई यत्तिकै छाडिरहे भविष्यमा पानी पर्दा खतरा हुन सक्ने उनको भनाइ छ । तसर्थ पहिला भ्वाङ परेको ठाउँको व्यवस्थापन गर्न दिनुपर्ने उनले बताए ।

मन्त्री ज्वालाले भने एक महिनाभित्र मुख्य सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ गर्नसमेत निर्देशन दिए पनि काम भने अघि बढ्न सकेको छैन ।

समस्या समाधान नभएकाले निर्माणको काम थप लम्बिने देखिएको सडक विभाग स्रोतले जनायो ।

‘दैनिक ५ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको थियो,’ उनले भने, ‘अचानक सुरुङ नजिकै भ्वाङ देखिएपछि काम रोकिएको हो ।

दसैंलगत्तै मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्ने भनिए पनि अहिले सम्भव भएन, मंसिर पुग्ने स्थिति भयो ।’

अहिले धादिङ र काठमाडौं दुवैतिर काम रोकिएको छ । मुख्य सुरुङ २९२ मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले बताएको छ ।

गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २.५५७ किमि दूरी रहेको उक्त आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ ।

नेपालको पहिलो यातायात सुरुङ भएकाले निर्माणमा सबैको चासो छ । मुख्य सुरुङको कुल दूरी २.६८८ किमिमध्ये २.३९६ किमि खनिसकिएको छ ।

सुरुङ खन्ने काम सकिएपछि फिनिसिङ गर्न समय लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए । निर्माणमा कुनै समस्या नआए २०८१ पुसमा यातायात चल्ने आयोजनाको दाबी छ ।

अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम भएको हो ।

सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् ।

सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेटले भने आवतजावत गर्न पाउनेछैनन् ।

सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएपछि त्यसभित्र अक्सिजन, बत्ती व्यवस्थापन, सडक कालोपत्र, लाइनिङलगायत काम गर्न समय लाग्नेछ ।

समग्रमा सुरुङ खन्ने काम ९३.७० प्रतिशत सकिइसकेको छ । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ६१.३११ प्रतिशत छ ।

२०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने हो । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र हो ।

सुरुमा कोभिडका कारण तोकिएकै समयभित्र निर्माण नसकिएको आयोजनाको भनाइ छ । त्यसको प्रभाव पछिसम्म रहँदा सुरुङ निर्माणको कामले गति लिन नसकेको सडक विभागले बताएको छ ।

सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि ०८० साउन ४ सम्म म्याद थपिएको हो ।

उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।

अहिले थप भएको समयभित्र पनि काम नसकिने भएकाले थप ६ महिना समय लाग्ने प्रमुख श्रेष्ठले जनाए । ‘अहिले थपिएको समयभित्र पनि काम सकिने देखिँदैन ।

रफ्तारमा भइरहेको काम अहिले आएर रोकिएको छ,’ उनले भने, ‘फेरि सुरु खन्नेबित्तिकै काम सकिने होइन, यसको फिनिसिङ गरेर व्यवस्थापन गर्न समय लाग्छ, पछि ६ महिना थप गर्नुपर्ने हुन्छ ।’

सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ ।

ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।

आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ । फ्लाईओभर भने निर्माणकै चरणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *