पाल्पा — सिद्धार्थ राजमार्ग मर्मत सुधारका काममा लापरबाही भएको छ । वर्षायामअघि गरेका कालोपत्रमा खाल्डाखुल्डी भइसकेको छ ।
अधिकांश स्थानमा सडक एकतर्फी सञ्चालन हुँदासमेत पहिरो पन्छाउने, गतवर्ष बिग्रेका सडकको मर्मतसम्भारमा समेत ध्यान दिइएको छैन ।
पछिल्लो पटक सडक डिभिजन पाल्पाले निकालेको ठेक्काको काममा समेत लापरबाही भएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा सडक खण्डमा रेनफोर्स सिमेन्ट कंक्रिट अर्थात् रिजिट पेभमेन्ट गर्ने क्रममा निर्माण व्यवसायीले लापरबाही गरेको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए ।
‘दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्ने सडक मर्मत तथा स्तरोन्नतिमा लापरबाही ढंगले काम हुुनु भएन,’ उनले भने, ‘मैले पानीले गल्ने (स्यान्ड स्टोन) ढुंगा सडक ढलानका क्रममा नराख्न आग्रह गर्दागर्दै अटेरी गरे ।’
सडक डिभिजन, प्रमुख जिल्ला अधिकारी, तिनाउ गाउँपालिकासमेत सरोकारवाला निकायलाई जानकारी गराएको उनको भनाइ छ ।
सत्यवती कन्स्ट्रक्सन प्रालिले सिद्धार्थ राजमार्गको सिद्धबाबा, प्रभास, पिपलडाँडाको सेरालगायत स्थानमा रिजिट पेभमेन्ट, कालोपत्रलगायत कामका लागि ५ करोड ७५ लाखमा सम्झौता गरेर ठेक्का लिएको छ ।
लापरबाही ढंगले काम गरेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधिले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयमा उजुरी गरेका थिए ।
उजुरीका आधारमा अनुगमन गरेर लापरबाही ढंगले गरेको काम सच्याउन लगाइएको सडक डिभिजन प्रमुख बाबुराम सापकोटले बताए ।
दोभाननजिकै सिद्धबाबा खण्डमा झन्डै ५० मिटर सडक ढलान गर्ने क्रममा कमसल ढुंगा प्रयोग गरेको, बालुवा, ढुंगा प्रयोगमा लापरबाही गरेको गुनासाका आधारमा अनुगमन गरिएको हो ।
स्यान्ड स्टोन प्रयोग गरेकाले त्यसलाई हटाएर बलियो ढुंगा राख्न लगाइएको र अन्य काममा पनि पुनः लापरबाही नगर्न निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख खनालले जानकारी दिए ।
सडक डिभिजनबाट खटिएका सुपरभाइजरले कमसल ढुंगा प्रयोग नगर्न आग्रह गर्दागर्दै निर्माण व्यवसायीले जबर्जस्ती कमसल ढुंगा राखेर ढलान गर्न बिछ्याएका हुन् ।
स्थानीय, जनप्रतिनिधिले सरोकारवाला निकायमा जानकारी गराएर रोक्न माग गरेका थिए ।
त्यसैका आधारमा अनुगमन गर्दा निर्माण व्यवसायीबाट गल्ती भएको भेटिएकाले पुराना कमसल सबै ढुंगा निकालेर बलियो राख्न लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख सापकोटाको भनाइ छ ।
ठेक्कामा भएको सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही हुने सडक डिभिजनले बताएको छ ।
‘जानकारी पाउनासाथ अनुगमन गरिएको छ,’ उनले भने, ‘गलत भएका कामलाई सच्याउने र अटेरी गरेमा भुक्तानी रोकिनेछ ।’
गलत काम गर्ने निर्माण व्यवसायीको मूल्यांकन नगरिने उनले जनाए ।
राजमार्गमै गलत ढंगले काम गरेको र यसलाई सच्याउन लगाइएको तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाको भनाइ छ ।
‘सबैको आँखा पर्ने राजमार्गमै यस्तो हालत छ,’ उनले भने, ‘अन्यत्र कस्तो काम गरेका होलान् भन्ने जस्तो भयो ।’
गलत गरेको छ भने सच्याउन लगाउने र अटेरी गरे सडक डिभिजनले कानुनी प्रक्रियाअनुसार नै कारबाही गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।
राजमार्ग छेउकै बलियो ढुंगा भनेर राखेको तर प्राविधिक रूपमा कमजोर भएकाले खोलाको ढुंगा राखेर सोलिङ गरेको सत्यवती कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि निम्नप्रसाद ढकालको भनाइ छ ।
प्रोजेक्ट मेनेजर र श्रमिकका कारण सामान्य गल्ती भएकाले सच्याउन लगाइएको कन्स्ट्रक्सनका प्रालिका प्रमुख किसन आचार्यले जनाए ।
करोडौं रुपैयाँको काम गर्दा एक टिप्पर ढुंगा जोगाएर केही नहुने उनको भनाइ छ ।
Post Views: 247