काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य तीन वटा राजमार्ग अन्तर्गतका सडक खण्डहरु अहिले स्तरोन्नतिको चरणमा छन् ।
पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने मुग्लिन-नागढुंगा सडक खण्ड विस्तार हुँदैछ ।
काठमाडौंलाई उत्तरी जिल्लाहरु नुवाकोट, रसुवासँग जोड्ने पासाङल्हामु सडक एक दशक नाघ्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।
अरनिको राजमार्ग र बीपी राजमार्गमार्फत काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सूर्य विनायक-धुलिखेल सडक खण्ड समेत यतिबेला विस्तारको चरणमा छ ।
यी सडक खण्डहरु छिचोल्दै अगाडि बढ्ने यात्रुको सास्ती त्यति मै रोकिनेवाला छैन ।
मुग्लिनबाट तनहुँ हुँदै पोखरा र पश्चिम पहाडी भेगमा जाने यात्रुले विस्तारका क्रममा रहेको मुग्लिन-पोखरा सडक खण्डमा सास्ती बेहोर्नु पर्नेछ ।
मुग्लिनबाट नारायणगढसम्म जाने यात्रुले सो खण्डमा वर्षायाममा झरेका दर्जनौं पहिरोले उत्पन्न गरेको जोखिम पार गर्दैर् यात्रा गर्नुपर्ने छ ।
नारायणगढबाट बुटवलतर्फ जाने यात्रुका लागि महेन्द्र राजमार्गको बुटवलसम्मको यात्रा सबैभन्दा कष्टकर हुनेछ । यो सडक खण्ड विस्तारको काम ६ वर्षमा समेत सम्पन्न हुन सकेको छैन ।
महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नेपालमा कमला-कञ्चनपुर सडक खण्डसमेत विस्तारको क्रममा छ ।
पूर्वी नेपालमा केचना-ओलाङचुङगोला सडकअन्तर्गत पाँचथरको हेवाखोलामा यसवर्ष आएको बाढीले सुदूरपूर्वी नेपालमा यात्रा गर्नेहरुले निरन्तर सास्ती भोगे ।
यो सडक खण्ड अहिले पनि जोखिमपूर्ण अवस्थामा छ ।
जताततैको अधकल्चो सडक विस्तारले यो वर्षको दशैंमा यात्रा गर्ने यात्रुहरुले सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
सडक विभागको तथ्यांक अनुसार अहिले देशभर ९९ प्रतिशत सडक दोहोरो गाडी चल्न सक्ने अवस्थामा छन् ।
बाँकी एक प्रतिशत सडकलाई दशैंअगाडि नै दोहोरो गाडी चल्नयोग्य बनाउने लक्ष्य सरकारको छ ।
यद्यपि विस्तारको चरणमा जीर्ण जस्तै अवस्थामा रहेका सडकले दशैंको यात्रा सहज भने हुने छैन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यस वर्ष मुग्लिन-पोखरा र नारायणगढ-बुटवल सडक खण्डले यात्रु र व्यवयासीलाई सबैभन्दा धेरै सास्ती दिनेछ ।
सोहीकारण व्यवसायीले अगि्रम टिकट बुकिङ खुलाउनुअगाडि नै यी सडक खण्डमा विनाअवरोध यातायात चल्ने वातावरण बनाउन माग गरेका थिए ।
सडकका कारण गाडी समयमा आउन सकेन भने व्यवसायीले मात्र गाली खाने अवस्था आउने भन्दै उनले सडक पूर्वाधार सुधारमा जोड दिए ।