काठमाडौँ उपत्यकामा २९ दिनमै १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत कात्तिक १ देखि २९ गतेसम्म विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालक रहेका छन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उक्त अवधिमा मापसे गरी सवारी चलाउने २ हजार ८९२ जना चालक कारबाहीमा परेका छन्। यस्तै, लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालकलाई समेत प्रहरीले कारबाही गरेको छ।

मापसे तथा लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको सम्भावना बढ्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनी व्यवस्थाले मादक तथा लागुपदार्थ सेवन गरी सवारी चलाउन निषेध गरेको छ। नियमविपरीत सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गरिँदै आएको प्रहरीले जनाएको छ।

प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीचालकलाई ट्राफिक नियमको पालना गर्न र मादक तथा लागुपदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *