दशैंको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ७०३ चालकलाई कारबाही गरिएको छ । प्रहरीका अनुसार मापसे गरी सवारी चलाउने २ हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने १ हजार ८८२, तीव्र गतिमा सवारी चलाउने ७४६, सवारीको छतमा यात्रु राख्ने ७३, यान्त्रिक परीक्षण मापदण्ड पूरा नगर्ने ८८, बढी भाडा असुल्ने ५८, लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन् ।
दशैंको अवधिमा देशभर १ हजार ३३९ वटा सवारी दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर उक्त संख्यामा सवारी दुर्घटना भएकाे हाे ।
ती दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले दशैंको अवधिमा सवारी दुर्घटनामा परी ८३ पुरुष, ३९ महिला, ७ बालक र ५ बालिकाको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा परी २ हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा पर्ने दुई तिहाईबढी मोटरसाइकल रहेका छन् ।