चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जा यसै वर्ष भारतीय बजारमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले भारतका प्रमुख सहरमा गाडी बिक्री गर्न डिलर छनोट गर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
डेन्जाले भारतमा सार्वजनिक हुने क्रममा आफ्नो प्रिमियम सवारी लाइनअप प्रस्तुत गर्ने भारतीय सञ्चारमाध्यमकाले बताएका छन् । डेन्जाको पहिलो मोडलका रूपमा डेन्जा डी९ लक्जरी एमपीभी आउने अपेक्षा गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार डेन्जाले मुम्बई, बेंगलुरु, हैदराबाद, चेन्नई, अहमदाबाद र दिल्लीसहितका प्रमुख सहरमा बिक्री तथा वितरण सञ्जाल विस्तार गर्नेछ ।
डेन्जा डी९ फराकिलो क्याबिन, विलासी सुविधा र विद्युतीय प्रविधिका कारण प्रिमियम एमपीभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने मोडल हो । बीवाईडीले डेन्जामार्फत प्रिमियम विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।
नेपालमा भारतभन्दा अगाडि नै प्रवेश गरिसकेको यो ब्रान्डको भारतीय बजार प्रवेशलाई कम्पनीको क्षेत्रीय विस्तारको अर्को कदमका रूपमा लिइएको छ ।