पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ।
सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८ देखि ११ गतेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले १० स्थानको सडक कटान गरेर बगाएको र भत्काएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेकका स्थानमा मङ्गलबारसम्म प्रारम्भिक मर्मत कार्य सकिएको जानकारी दिए ।
‘मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने गरि मर्मत भएको छ,’ उनले भने, ‘पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग बनाउने काम सकिएको छ ।’
बाढीले कुनौटामा पैदलयात्रा गर्न नमिल्ने गरी २५० मिटर सडक र पोखरेबगरको पुलको पहुँचमार्ग बगाएको थियो । कुनौटामा चार वटा एक्साभेटरसहित टिप्पर परिचालन गरेर माटो भर्ने तथा पोखरेबगरमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण भइरहेको छ ।
आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजना प्रमुख शर्माले बताए । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन इन्धन अभाव रहँदै आएको थियो ।
राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको छ । नेपाली सेना, स्वयम्सेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।