गण्डकी अटो मेकानिकल वर्क्स पोखराको वार्षिकोत्सवमा खुला रक्तदान

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखराको ३३औँ वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थाको ३३औँ वार्षिकोत्सवको महत्त्व, संस्थाका निरन्तर वार्षिक कार्यक्रमहरू तथा अटोमोबाइल क्षेत्रको योगदानबारे प्रकाश पार्नुभएको थियो।

उक्त कार्यक्रमकी प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन नयाँ नेतृत्व र सक्षम व्यक्तित्व निर्माण गर्न सफल संस्था भएको बताउनुभयो।

संस्थाले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरेर पुण्य काम गरेको उल्लेख गर्दै पोउवा संघले संस्थागत कार्यहरूमा सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

आफूलाई अध्यक्ष बनाउन संस्थाको ठूलो भूमिका रहेको स्मरण गर्दै उहाँले व्यवसायीका हकहितमा समर्पित भएर काम गर्ने र पोखरामा ‘अटोल्याण्ड’ निर्माणको विषयलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।

साथै, उहाँले एशोसिएसनलाई आमन्त्रित सदस्यका रूपमा समेटेर सँगसँगै अघि बढ्ने स्पष्ट पार्नुभयो।

कार्यक्रमका संयोजक एवं स्वास्थ्य सल्लाहकार डा. रविन्द्र श्रेष्ठले रक्तदानको महत्त्वमाथि जोड दिँदै मेडिकल साइन्सले जतिनै फड्को मारेको भए तापनि मानिसमा रगतको कमी पूरा गर्न रक्तदानको विकल्प नरहेको बताउनुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले संस्थाले स्थापना दिवसको अवसरमा खुला रक्तदानजस्तो पवित्र सामाजिक कार्य आयोजना गरेर उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो।

यसैगरी, संस्थाका पूर्व अध्यक्ष सनतकुमार भट्टराईले संस्था नेपालकै पहिलो अटो मेकानिकल संस्था भएको र हाल ३९४ सय संस्थाहरूसँग आबद्ध रहेको जानकारी दिनुभयो।

पोखरा शहरको विस्तार तीव्र गतिमा भइरहेकाले यहाँ ‘अटोल्याण्ड’को आवश्यकता औँल्याउँदै त्यसको पहल गर्न उहाँले अनुरोध गर्नुभयो।

कार्यक्रममा अग्रज रक्तदाता एवं संस्थाका प्रेस सल्लाहकार कृष्णबहादुर थापाले अग्रजहरूले बसालेको बलियो जगकै कारण संस्था आज यो उचाइमा आइपुगेको उल्लेख गर्दै सबैलाई नियमित रक्तदान गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा रेडक्रस कास्कीकी गरिमा खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उक्त रक्तदान कार्यक्रममा वीरबहादुर पौडेल प्रथम रक्तदाता रहनुभएको थियो।

संस्थाका बरिष्ठ उपाध्यक्ष नबराज सुनारले सहभागि सबैमा धन्यवाद मन्तव्य व्यक्त गर्दै औपचारिक कार्यक्रमको पहिलो सत्र समापन गर्नुभएको थियो।

संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव विजेन्द्र चौधरीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *