मौसममा क्रमिक सुधारसँगै सहज बन्दै सडक यातायात

अविरल वर्षापछि गएको बाढीपहिरोले ठाउँ–ठाउँमा सडक र पुलमा क्षति पुर्‍याएपछि बन्द भएका सडक बिस्तारै खुल्दै गएका छन्।  जनजीवन पनि सहज बन्दै गएको छ।  केही दिनअघि परेको अविरल वर्षाले सवारी चाप बढी हुने पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए। अहिले यी दुवै मार्गमा दुईतर्फी नै यातायात सञ्चालनमा छन्।

पृथ्वी राजमार्गको कृष्णभीरमा १४ भदौको भोटेकोशी बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा सडक भासिएको थियो। पछि भासिएको सडकखण्डभन्दा केही माथि नयाँ ट्र्याक खोलेर १८ दिनमा सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेकाले पनि वर्षात्को समयमा उक्त मार्गमा सवारी चलाउन रोक लगाइएको थियो। अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमा सवारीसाधन चलिरहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताए।

अहिले लमजुङ–मनाङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्क भने टुटेको छ । बागलुङ–पर्वत जोड्ने मालढुंगास्थित कालीगण्डकी नदीको पक्की पुलको पहुँच सडक बगाउँदा दुई जिल्लाबीच सिधा सडक सम्पर्क टुटेको छ । यस्तै गएको १० भदौमा आएको भोटेकोशी बाढीले सडक र पुल बगाउँदा रसुवा–नुवाकोट पनि अझै सिधा सडक सम्पर्कमा जोडिन सकेको छैन ।

‘अहिले मुख्य समस्या मनाङ र मुस्ताङ जोड्ने सडक र पुलमा छ, बागलुङका वैकल्पिक मार्ग चलेका छन्,’ प्रवक्ता न्यौपानेले भने, ‘समस्या भएका सबै राजमार्गमा शुक्रबारसम्म सहज रूपमा सवारी चल्छन् । दसैंसम्म पानी नपरे कुनै समस्या छैन ।’ नागढुंगा–मुग्लिन भएर दिनहुँ सानाठूला गरेर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला यो संख्या बढेर तेब्बर बढी हुने सडक विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *