भारी सवारीमा पनि विद्युतीकरण विस्तार गर्दै जगदम्बा, स्याक्म्यानका दुई ईभी ल्याउँदै

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका दुई विद्युतीय हेभी सवारी नेपाल ल्याउने तयारी गरेको छ। कम्पनीले स्याक्म्यान एक्स–५०००ई ६×४ इलेक्ट्रिक ट्र्याक्टर र एक्स–५०००ई ६×४ इलेक्ट्रिक डम्प ट्रक नेपाली बजारमा भित्र्याउन लागेको हो।

यी दुई मोडलमार्फत नेपालमा भारी तथा व्यावसायिक सवारीसाधनको क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य जगदम्बा मोटर्सले लिएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक कार तथा हलुका व्यावसायिक सवारीमा बढिरहेको अवस्थामा अब यसको प्रयोग भारी सवारीतर्फ पनि विस्तार हुन थालेको छ। यही क्रममा जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा भारी सामान ओसारपसार हुने क्षेत्रमा विद्युतीय सवारीको विकल्प उपलब्ध गराउने तयारी गरेको हो।

ढुवानीदेखि निर्माणसम्मका लागि लक्षित

स्याक्म्यानको एक्स–५०००ई ६×४ इलेक्ट्रिक ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि लक्षित गरिएको छ। त्यस्तै, एक्स–५०००ई ६×४ इलेक्ट्रिक डम्प ट्रक निर्माण तथा खानी क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ।

कठिन भौगोलिक अवस्था तथा चुनौतीपूर्ण कार्य वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका यी दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको कम्पनीले जनाएको छ।

दुवै मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा उपलब्ध रहेको बताइएको छ। यसले व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारीसाधनको सञ्चालन समय व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, सवारीसाधनमा स्मार्ट कन्ट्रोल तथा ब्याट्री व्यवस्थापन प्रणाली समेत उपलब्ध रहेको जनाइएको छ। उक्त प्रणालीले विभिन्न कार्य वातावरणमा सवारीसाधनको सञ्चालनलाई प्रभावकारी तथा भरपर्दो बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ।

हेभी ईभी सेग्मेन्टमा जगदम्बाको प्रवेश

स्याक्म्यानका यी दुई मोडल नेपाल आएपछि जगदम्बा मोटर्स भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्नेछ।

नेपालमा व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि विद्युतीय सवारीसाधनको विकल्पबारे चासो बढिरहेको अवस्थामा एक्स–५०००ई इलेक्ट्रिक ट्र्याक्टर र डम्प ट्रकले नेपाली बजारमा थप विकल्प सिर्जना गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी ढुवानी, निर्माण तथा खानी क्षेत्रमा प्रयोग हुने हेभी सवारीसाधनमा विद्युतीय प्रविधिको प्रयोग बढाउन यी मोडल लक्षित हुनेछन्।

जगदम्बा मोटर्सले एक्स–५०००ई इलेक्ट्रिक ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *