काठमाडौं । नेपालमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि टोयोटा समूहले ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । सहयोगमा टोयोटा मोटर एसिया तथा टोयोटा त्सुशो एसिया प्यासिफिकको समेत समन्वय रहेको कम्पनीले जनाएको छ ।
प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा प्रभावित बनेका नागरिक तथा समुदायलाई आवश्यक राहत पुर्याउन सहयोग पुग्ने गरी रकम उपलब्ध गराइएको यूटीएसले जनाएको छ ।
विपद्का बेला प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न तथा पुनःस्थापनाका काममा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको कम्पनीको भनाइ छ । सहयोगले प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापनाका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यूटीएसले यो सहयोगलाई नेपालसँग टोयोटा समूहको दीर्घकालीन सम्बन्ध र सामाजिक उत्तरदायित्वको हिस्सा भएको जनाएको छ । कम्पनीका अनुसार व्यवसायिक गतिविधिसँगै आवश्यक परेको समयमा नेपाली समुदायलाई सहयोग गर्नु पनि आफ्नो सामाजिक प्रतिबद्धताको एउटा पक्ष हो ।
टोयोटा समूहले आगामी दिनमा पनि नेपाल र नेपाली समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै सुरक्षित तथा विपद् सामना गर्न सक्ने समाज निर्माणका प्रयासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।