चीनको हाङझाउमा लिन्क एन्ड को ९०० प्लग इन हाइब्रिड एसयूभीमा आगलागी भएको छ । गाडीमा भएको हाई भोल्टेज ब्याट्रीमा आगो लागेको आशंका भएपनि स्थानिय बिक्रेताले त्यसलाई अस्वीकार गरेको हो ।
सेप्टेम्बर ९, २०२६ मा हाङझाउमा स्थानिय समय अनुसार दिउँसो करिब ४ः०६ बजे उक्त घटना भएको हो । पार्किङमा राखिएको एसयूभीको तल्लो भागबाट धुवाँ निस्किएको र त्यसपछि सीमित क्षेत्रमा आगो लागेको भिडियो सामाजिक संजालमा आएका छन् । पछि, दमकलले आगो नियन्त्रणमा लिएको थियो ।
घटनापछि सेप्टेम्बर १० मा हाङझाउ लिङयुए लिन्क एन्ड को सेन्टरले विज्ञप्ति जारी गर्दै गाडीको हाई भोल्टेज ट्रायाक्सन ब्याट्रीमा आगलागी भएको दाबी अस्वीकार गरेको हो । डिलरका अनुसार गाडीधनीले दिएको जानकारीमा एक पैदलयात्रीको पावर बैंक खसेपछि त्यसलाई गाडीमुनि लात्तीले धकेलिएको र त्यसपछि आगो लागेको उल्लेख छ ।
यद्यपि, पावर बैंक नै आगलागीको कारण भएको कुरा अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन । घटनाको वास्तविक कारण नगरस्तरीय अग्नि अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ । हालसम्म ब्याट्रीको टेलिमेट्री, तापक्रमसम्बन्धी तथ्यांक वा फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गरिएको छैन ।
लिन्क एन्ड को ९०० कम्पनीको फ्ल्यागसिप थ्री-रो एसयूभी हो । यो जिलीको ‘स्पा ईभो’ आर्किटेक्चरमा आधारित छ । यसमा ४४.९ र ५२.४ किलोवाट आवरको दुई ब्याट्री विकल्प पाउन सकिन्छ । तीमध्ये ठूलो ब्याट्री सीएटीएलको फ्रिभोय हाइब्रिड ब्याट्री हो ।
अहिले उपलब्ध विवरणका आधारमा लिन्क एन्ड को ९०० मा आगो लागेको कुरा पुष्टि भए पनि आगलागीको स्रोत र ट्रायाक्सन ब्याट्री संलग्न थियो वा थिएन भन्ने विषय भने अझै अनुसन्धानकै क्रममा रहेको छ ।