सिम्पल इनर्जीले भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर सिम्पल वेभ लन्च गरेको छ । सुरुवाती मूल्य १ लाख १० हजार भारतीय रुपैयाँ तोकिएको यस स्कुटरको डेलिभरी सेप्टेम्बर २५, २०२६ देखि सुरु हुने जनाइएको छ ।
कम्पनीले यसलाई ब्याट्री क्षमता र फिचरका आधारमा वेभ एस ईबीएन, वेभ एस टीएफटी, वेभ ईबीएन, वेभ टीएफटी र टप भेरियन्ट वेभ प्लस गरी कुल ६ वटा भेरियन्टमा उपलब्ध गराएको छ ।
ब्याट्री क्षमताअनुसार यसको रेन्ज पनि फरक छ, जहाँ २.२ किलोवाट आवर ब्याट्रीले ११० किलोमिटर, २.७ किलोवाट आवरले १३२ किलोमिटर, ३.७ किलोवाट आवरले १७१ किलोमिटर र ५ किलोवाट आवर ब्याट्री भएको वेभ प्लसले २४३ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
ट्युबुलर स्टिल फ्रेममा आधारित यस स्कुटरमा पीएमएसएम मोटर तथा चेन–ड्राइभ सिस्टम दिइएको छ । यसमा ७० लिटरको मुख्य स्टोरेज र थप ४ लिटरको पिल स्टोरेज गरी कुल ७४ लिटरको स्पेस र १५० किलोग्रामको पेलोड क्षमता छ ।
स्कुटरमा राइड, इको र इकोएक्स गरी ३ वटा राइडिङ मोड राखिएका छन् भने ७५० वाटको पोर्टेबल चार्जरमार्फत वेभ प्लस भेरिएन्टलाई २ घण्टा १५ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क, रियरमा डुअल शक एब्जर्बर, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ । मोडल अनुसार ५ इन्च ईबीएन वा ७ इन्च टीएफटी डिस्प्ले उपलब्ध गराइएको यस स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसन, जीपीएस ट्र्याकिङ, ट्रयाक्सन कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड असिस्ट, रिभर्स मोड र ओटीए अपडेटजस्ता आधुनिक स्मार्ट फिचर उपलब्ध गराइएको छ ।