हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज

–  शोभा गौतम, अध्यक्ष – पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हाल्ने भएकी छन् ।

संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना तीन पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् ।

गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पारिन् ।

शाेभाले यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् ।

वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हाल्नेछिन् ।

यो जितलाई उनले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएकी छन् ।

‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनिन् ।

नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो ।

उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् ।

त्यही समयमा उनले व्यवसायीका समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पाइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *