त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा जिल्लामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सुरु भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार ढिकुरे (मध्यपहाडी राजमार्ग)–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला (रसुवा)–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार (पासाङल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ–सानो खोला (रसुवा)–धनस्वारा–पाटिखर्क खण्ड सञ्चालनमा आएको हो ।
यहाँ एस्काभेटर, ब्याकहो लोडर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका मर्मत तथा सुधारका काम गरिएको छ। योसँगै उक्त खण्डमा ठूला सवारी साधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको छ।
यसअघि सञ्चालनमा रहेको काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकबाट ४ चक्के साना सवारी साधन सञ्चालन हुँदै आएका थिए।
अब पाटिखर्कसम्म पुग्ने दुई वटा वैकल्पिक सडक उपलब्ध भएका छन्। जानका लागि फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला (रसुवा)–धनस्वारा–पाटिखर्क हुनेछ भने फर्किनका लागि पाटिखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै मध्यपहाडी राजमार्ग हुनेछ ।
यसरी एउटा सडकबाट जाने र अर्को सडकबाट फर्किने व्यवस्था गर्न सकिने भएकाले सवारी आवागमन सहज हुनुका साथै जामको समस्या कम गर्न मद्दत पुग्ने बताइएको छ ।