भदौ १० गते आएको बाढीले पक्कि पुल बगाएपछि नुवाकोटको विदुर नगरपालिका ५, देवीघाटस्थित तादी नदीमा बेलिब्रिज निर्माण रफ्तारमा अघि बढेको छ ।
नेपाली सेनाको इन्जिनियरिङ टोलीले ताँदीमा अमेरिकन प्रविधिको एक्रो ब्रिज धमाधम निर्माण गरिरहेको हो । नेपाली सेनाका अनुसार इन्जिनियरहरुले दिनरात पुल जडानको काम गरिरहेका छन् । उक्त पुल निर्माणमा ५५ जनाको टोलीले खटिएको सेनाले जनाएको छ ।
सेनाका अनुसार उक्त पुलको लम्बाइ ६० मिटर रहेको छ । ५.५ मिटर चौडाइको यो पुलको भारवहन क्षमता ५० टन रहेको छ । पुलको मुख्य संरचना नदी माथि वारपार जोडिसकिएको छ । तीव्र गतिमा काम भइरहेकाले यो साता भित्रै निर्माण सम्पन्न गरी सवारी संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।यो पुल संचालनमा आएसँगै गल्छी विदुर सिधा सडक संजालमा जोडिनेछ ।