नोभेम्बर २७ देखि गोवामा रोयल इन्फिल्ड मोटोभर्स २०२६ आयोजना गरिने

रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल महोत्सव मोटोभर्स २०२६ आगामी नोभेम्बर २७ देखि २९ सम्म भारतको गोवास्थित बागाटोरमा आयोजना गरिने जनाइएको छ । तीन दिनसम्म चल्ने यो विशाल मोटरसाइकल महोत्सवमा मोटरसाइकल, म्युजिक, आर्ट, स्पोर्ट र कम्युनिटि एक्टिभिटिजलाई एउटै स्थानमा जोड्नेछ । यो वर्षको मोटोभर्स रोयल इन्फिल्डको १२५औँ वार्षिकोत्सव समारोहको महत्वपूर्ण हिस्सा हुने भएकाले विगतका संस्करणको तुलनामा अझ भव्य हुने अनुमान गरिएको छ।

मोटोभर्स २०२६ मा डर्ट ट्र्याक, मोटो पोलो, स्लाइड स्कुल, ड्रिफ्ट स्कुल र ट्रेल स्कुलमा सहभागी भएर मोटरसाइकल चलाउने विभिन्न शैलीको प्रत्यक्ष अनुभव लिन सक्नेछ। महोत्सवको मोटोरिल नामक सेगमेन्टमा विश्वका विभिन्न स्थानबाट आएका मोटरसाइकल चालक, रेसर र कस्टम बिल्डरहरूले आफ्ना अनुभव, यात्रा र मोटरसाइकलसँग जोडिएका कथा सुनाउनेछन्।

महोत्सवमा दुईवटा छुट्टाछुट्टै मञ्च तयार गरिनेछ । मुख्य मञ्चमा अभिनेता र गायक फरहान अख्तर, लिफाफा, सञ्जित हेगडे, रेबेल, एमएचआर एन्ड फ्रेन्ड्स र पिंक फ्लोयडको ट्रिब्युट ब्यान्ड द थिङ्क फ्लोयडियनले प्रस्तुति दिनेछ । साथै नयाँ पुस्ताका गायक तथा डिजेहरू रुशिल, माली, सुगाहानी, कोमोरेबी र गोयाजस्ता कलाकारले हिपहप, इलेक्ट्रोनिक र आर एन्ड बी संगीत प्रस्तुत गर्नेछन्। यसले मोटोभर्सलाई केवल मोटरसाइकल प्रदर्शनी नभई संगीत र मनोरञ्जनको समेत ठूलो उत्सव बनाउने अपेक्षा गरिएको छ।

महोत्सवमा मोटरभिल क्षेत्रमा विश्वभरका १०० भन्दा बढी मोटरसाइकल र लाइफस्टाइल ब्रान्डले आफ्ना उत्पादन, उपकरण र नयाँ सामग्री प्रदर्शन गर्नेछन्। यहाँ विभिन्न मोटरसाइकल र राइडिङ क्लबका लागि स्पेशल ग्रुप राइड र वर्कशप अवलोकन गर्न सकिनेछ।

मोटोभर्स २०२६ को लागि टिकट बिक्रीसमेत सुरु भइसकेको छ। यसको टिकटको मूल्य २ हजार ५९९ भारुबाट सुरु हुने बताइएको छ। मोटरसाइकल क्लब, राइडिङ क्लब र सामूहिक रूपमा सहभागी हुने टोलीका लागि विशेष छुटसहितका पासको व्यवस्था पनि गरिएको छ।

गत वर्ष आयोजना भएको मोटोभर्स २०२५ मा ४० हजारभन्दा बढी मानिस सहभागी भएका थिए भने ६०० भन्दा बढी राइडिङ क्लबले सहभागिता जनाएका थिए। यस वर्ष रोयल इन्फिल्डको १२५औँ वार्षिकोत्सवसमेत जोडिएकाले सहभागीको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *