चीनद्वारा तातोपानी नाका बन्द

नेपाल र चीनको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीले बगाएर लगेको अवस्थामा चीनले सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका समेत अस्थायी रुपमा बन्द गरेको छ।

तातोपानी भन्सारका प्रमुख दीपेन्द्र प्रकाश गिरीले चीनले भदौ १४ गतेदेखि अस्थायी रुपमा नाका बन्द गरेको जानकारी दिएका हुन्। ‘चीनले अस्थायी रुपमा भन्सार बन्द गरेको जानकारी दिएको छ। बन्द गर्नुको कारण खुलाइएको छैन। पर्यटक सवारी साधन रोकिएको छैन। कार्गोका गाडी आउन दिइएको छैन’, प्रमुख गिरीले भने।

भन्सार विभागका एक अधिकारीका अनुसार चीनले आफ्नो भन्सार कार्यालय मर्मतसम्भारका लागि नाका बन्द गरेको जानकारी दिएको छ। ‘चीन मितेरी पुलनजिकको भन्सार कार्यालय माथि सार्ने योजनामा छ। यसकै तयारीका लागि भन्सार बन्द गरेको हो’, भन्सार विभागका ती अधिकारीले भने।

बाढीबाट रसुवागढी भन्सार पूर्ण रुपमा नस्ट भएको अवस्थामा चीनले अर्को प्रमुख नाका अस्थायी रुपमा बन्द गर्दा नेपाल–चीन व्यापार प्रभावित भएको छ। तातोपानी भन्सारबाट अन्तिम पटक गत भदौ १२ गते चीनबाट ८ वटा कन्टेनर नेपाल आएको तातोपानी भन्सारले जानकारी दिएको छ।

त्यसपछि थप कन्टेनर चीनबाट आएको छैन। साथै मुस्ताङको कोरला भन्सार नाकाबाट पनि नियमित सवारीसाधनबाहेक मालवाहक सवारीसाधन जाँचपास नभएको प्रमुख विदुर चुडालले जानकारी दिए। ‘नाका चलिरहेको छ। चीनबाट नेपाल ल्याइने गाडी आए उपलब्ध संरचना र जनशक्तिबाट काम गर्न सकिन्छ’, प्रमुख चुडालले भने।

रसुवागढी नाका बगेपछि केरुङमा १७६ वटा मालवाहक गाडी रोकिएको नेपाल हिमालय सीमापार वणिज्य संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए। उनका अनुसार करिब २०–२५ वटा गाडी लोड भएको अवस्थामा छन्। ती गाडीमा फलफूल, लत्ताकपडा, जुक्ता चप्पल, कस्मेटिकलगायत दसैं तिहार तथा जाडोयाका लागि लक्षित सामान छन्।

चीनमा रहेका मालवाहक कन्टेनर छुटाउन सोमबार संघले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेको थियो। उक्त भेटमा संघले फलफूल कोरला नाकाबाट ल्याउँदा समय धेरै लाग्ने र कुहिने जोखिम हुने भएकाले तातोपानी नाकाबाट ल्याउने व्यवस्था मिलाउन सचिवसँग अनुरोध गरिएको कार्कीले जानकारी दिए।

यस्तै भन्सार विभागले पनि भदौ १३ गते सूचना जारी गर्दै कोरला नाका प्रयोग गर्न अनुरोध गरेको थियो। विभागले भन्सार परिवर्तका लागि सहजीकरण गर्ने बताइसकेको छ। यसका लागि चीनबाट पनि स्वीकृति आवश्यक पर्छ। यसका लागि पराष्ट्र मन्त्रालयले सहजीकरण गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *