सरकार अहिले प्रभावित क्षेत्रमा अझैं पनि खोज र उद्धारमा केन्द्रित रहेको छ। सँगसँगै प्रभावित क्षेत्रका नागरिकका लागि राहत संकलन तथा वितरण पनि सरकारको प्राथमिकतामै परेको छ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा संघसंस्था र आम नागरिकहरुबाट प्राप्त राहत सामग्री संकलन गरी प्रभावित नागरिक समक्ष पुर्याइरहेको जनाइएको छ ।
यस कार्यमा अन्तर्राष्ट्रिय जगतले पनि सघाइरहेको सरकारले जनाएको छ । हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया लगायत मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त भइसकेको उल्लेख गरिएको छ।
सरकारका अनुसार सुरक्षाकर्मीले हवाई र सडकमार्गमार्फत प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ) का ४ वटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोट जिल्लाका २७ वटा वितरण केन्द्रमार्फत ३६९६ जना प्रभावित नागरिकसम्म पुर्याइएको छ।
साथै प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा ती केन्द्रहरुमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रियताका साथ जुटिरहेका छन्। सरकारले राहत संकलन र वितरणबारे राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणले निरन्तर जानकारी समेत गराइरहेका छ।
राहत संकलन तथा वितरण कति प्रभावकारी भइरहेको छ भनेर सचिवालयका सदस्यहरु र कर्मचारीहरुलाई समेत प्रभावित क्षेत्रमै परिचालन गरिएको जनाइएको छ ।