एसियाली पूर्वाधार लगानी बैंकबाट २० लाख अमेरिकी डलर (करिब साढे ३० करोड रुपैयाँ) अनुदान प्राप्त भएसँगै सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा खण्ड) स्तरोन्नति प्रक्रिया अघि बढेको छ ।
सडक विभाग अन्तर्गत विकास सहयोग कार्यान्वयन महाशाखाले उक्त सडक स्तरोन्नतिका लागि विस्तृत आयोजना प्रतिवेन (डीपीआर) तयार गर्न परमर्शदाता छनाेट गर्न आशयपत्र माग गरेको हो ।
महाशाखका अनुसार इच्छुक कम्पनीहरुले आगामी असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । छनोट हुने परामर्शदाताले कुल १८ महिनाभित्र सम्पूर्ण तयारी कार्य सम्पन्न गर्नुपर्नेछ।
परामर्शदाताले आयोजनाको विस्तृत आयोजना प्रतिवेन (डीपीआर) इन्जिनियरिङ सर्वेक्षण, डिजाइन, रेखांकन, लागत अनुमान, वातावरणीय र सामाजिक प्रभाव मूल्यांकन (ईएसआइए), वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना (ईएसएमपी), पुनःस्थापना योजना (आरपी), सरोकारवाला सहभागिता योजना (एसईपी) लगायतका प्रतिवेदनहरू तयार पार्नुपर्नेछ । साथै, अन्तर्राष्ट्रि बोलपत्र आह्वानका लागि आवश्यक सम्बन्धी कागजात तयार पार्नुपर्ने महाशाखाले जनाएको छ ।
टवल गोलपार्कदेखि पोखरा लखन चोकसम्म १५७ किलोमिटर लामो यो सडकको अधिकांश स्थानमा ५.५ मिटर मात्रै फराकिलो छ । सडक भूगोल १५ देखि २० मिटरका साना त्रिज्या भएका तीव्र घुम्तीहरू र १०-१२ प्रतिशतसम्मको उकालो छ । यसअघि वन मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन अनुसार यो सडकको स्तारोन्नतिपछि दुरी ४५ किमी छोटिएर ११२ किलोमिटरमा झर्नेछ ।
सडकको दुरी छोट्याउन उक्त राजमार्गमा सुरुङमार्ग, केही ठाउँमा नयाँ सडक, भायडक्ट पुल लगायत निर्माण गरिने उल्लेख गरिएको छ । अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, २.९५ किलोमिटर भायडक्ट पुल, ०.८६ किलोमिटर पुल, ११.७ किलोमिटर नयाँ सडक र ७४ किलोमिटर स्तरोन्नति गर्ने योजना छ ।
१५७ किमी सडक स्तरोन्नति गर्न १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको हो । उक्त सडकको अल्पकालीन र दीर्घकालीन सुधारका लागि प्रस्ताव गरिएको छ । आयोजनाको अल्पकालीन सुधार अन्तर्गत सडक निर्माणमा १० अर्ब ३८ करोड ७० लाख र दीर्घकालीन विकल्प (भायाडक्ट, सुरुङ) को ९ अर्ब ३७ करोड २० लाख लाग्ने अनुमान गरिएके छ ।
अल्पकालीन सुधारअन्तर्गत विकल्पका रूपमा सडकखण्डलाई सबै मौसममा सुचारु रहने डबल बिटुमिनको सर्फेस टिट्रमेन्ट मापदण्डअनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गरिने भएको छ ।