डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ ।
सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा भित्रिएर आफ्नो आकर्षक डिजाइन, फराकिलो इन्टेरियर र व्यावहारिक ड्राइभिङ रेन्जका कारण लोकप्रिय बनेको नामी बक्सको सफलतालाई निरन्तरता दिँदै यो परिमार्जित मोडल बजारमा ल्याइएको हो ।
नयाँ बक्स ई२ ले विशेषगरी सहरी प्रयोगकर्ता, युवा ग्राहक र पहिलो इलेक्ट्रिक कारको खोजीमा रहेका परिवारलाई लक्षित गर्दै इलेक्ट्रिक मोबिलिटीलाई अझ पहुँचयोग्य र सहज बनाउने लक्ष्य राखेको छ ।
नयाँ नामी बक्स ई२ मुख्य गरी बक्स ई२ ३३० र बक्स ई२ ४३० गरी दुई भेरियन्टमा उपलब्ध गराइएको छ ।
नाडा अटो शोको अवसर पारेर कम्पनीले बक्स ई२ ३३० को विशेष मूल्य २९.लाख ९९ हजार बक्स ई२ ४३० को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
अटो शो सकिएपछि यी मोडलहरूको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार कायम हुनेछ ।
यसका साथै, सिल्भर तथा डुअल–टोन रङका गाडी रोज्ने ग्राहकका लागि थप ५० हजार शुल्क लाग्नेछ ।
गाडीको रेन्ज र फिचरको कुरा गर्दा बक्स ई२ ३३० ले २३७ किलोमिटर र बक्स ई२ ४३० ले ३१७ किलोमिटर सम्मको डब्लुएलटीपी ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
नयाँ मोडललाई प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउनका लागि अघिल्लो मोडलमा रहेका लेभल२ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ जस्ता फिचरहरू भने हटाइएको छ ।
यद्यपि, यात्रुको सुरक्षाका लागि ६ वटा एयरब्याग, डार्क मोड र इन–बिल्ट कारप्ले जस्ता आधुनिक सुविधा यसमा समावेश छन् ।
नेपालका सडकमा पहिले नै दुई हजारभन्दा बढी नामी सवारीसाधन गुडिरहेको अवस्थामा नयाँ मोडलले ग्राहकलाई थप उत्कृष्ट विकल्प प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।