काठमाडौं । यामाहाले आफ्नो लोकप्रिय रेट्रो–मोडर्न मोटरसाइकल एक्सएसआर १५५ नेपाली बजारमा भित्र्याउने भएको छ । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीको आधिकारिक वितरक एमएडब्ल्यू राइड्स प्रालिले भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो २०२६ मा यो मोटरसाइकल पहिलोपटक सार्वजनिक गर्ने भएको हो ।
‘Born to Stand Apart’ अभियानअन्तर्गत प्रदर्शन गर्न लागिएको एक्सएसआर १५५ लाई परम्परागत स्ट्रीट बाइकभन्दा फरक डिजाइन र व्यक्तित्व खोज्ने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
रेट्रो डिजाइनलाई आधुनिक प्रविधिसँग जोडिएको यो मोटरसाइकलमा टियरड्रप आकारको फ्युल ट्यांक, गोलाकार एलईडी हेडलाइट, फ्ल्याट बेन्च–स्टाइल सिट तथा न्यूनतम बडी डिजाइन दिइएको छ । क्लासिक मोटरसाइकलको स्वरूपलाई आधुनिक प्रदर्शन क्षमतासँग संयोजन गर्ने उद्देश्यले एक्सएसआर १५५ तयार गरिएको कम्पनीको भनाइ छ ।
मोटरसाइकलमा १५५ सीसीको इन्जिन प्रयोग गरिएको छ । दैनिक सहरी यात्राका लागि उपयोगी हुनेसँगै उत्साहजनक राइडिङ अनुभव दिने गरी यसको इन्जिन तथा अन्य प्रविधि विकास गरिएको कम्पनीले जनाएको छ ।
एमएडब्ल्यू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नेपाली बजारमा फरक पहिचान भएको मोटरसाइकल ल्याउन लागेको बताएका छन् । उनका अनुसार ‘Born to Stand Apart’ अभियानले व्यक्तिगत शैली र फरक पहिचानलाई प्रतिनिधित्व गर्नेछ ।
एक्सएसआर १५५ को नेपालमा बिक्री सुरु हुनुअघि नै कम्पनीले प्रि-बुकिङ खुलाउने भएको छ । नाडा अटो शोबाट प्रि-बुकिङ प्रक्रिया सुरु हुनेछ । मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले आफ्नो युनिटका लागि एक महिनाअघि नै बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार यस्तो व्यवस्थाले बजारमा व्यापक उपलब्धता सुरु हुनुअघि नै पहिलो चरणका ग्राहकलाई मोटरसाइकल प्राप्त गर्ने अवसर दिनेछ । यसले एक्सएसआर १५५ लाई सीमित प्रारम्भिक उपलब्धतासहितको विशेष मोडलका रूपमा प्रस्तुत गर्ने कम्पनीको योजना छ ।
नाडा अटो शोमा सहभागी हुने ग्राहकले भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा रहेको यामाहाको स्टलमा एक्सएसआर १५५ प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । यामाहाको स्टल बिहान १०ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म खुला रहनेछ ।
स्टलमा ग्राहकले मोटरसाइकलका विशेषताबारे जानकारी लिनुका साथै उत्पादन विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गर्न र प्रि-बुकिङ गर्न सक्नेछन् ।
रेट्रो लुक, १५५ सीसीको इन्जिन र आधुनिक प्रविधिको संयोजनसहित एक्सएसआर १५५ को नेपाल प्रवेशले प्रिमियम तथा फरक डिजाइनका मोटरसाइकल खोज्ने ग्राहकबीच नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ ।