नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने बताएका छन् ।
१८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष उप्रेतीले सवारी साधन अब विलासिताको वस्तु मात्र नभएर नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको जनाएका हुन्।
सवारी साधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा मात्र हेरिने दृष्टिकोणमा पुनरावलोकन गर्नुपर्ने उप्रेतीको भनाई छ । आज अटो क्षेत्र १० लाखभन्दा बढीको रोजगारी र वार्षिक ९० अर्बभन्दा बढी राजस्वको स्रोत मात्र नभई आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य कडी भएको उप्रेतीले उल्लेख गरे
अध्यक्ष उप्रेतीले काठमाडौँमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको गुनासो गरे।
भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डपको स्तरोन्नतिको योजना तत्काल कार्यान्वयन गर्न आबश्यक रहेको उनले बताए ।