डोङफेङका नयाँ विद्युतीय बसहरूमा ५ लाखसम्मको विशेष छुट

चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका नयाँ विद्युतीय बसहरू काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा सार्वजनिक गरिएका छन् ।

हिमालयन अर्गनाइजेशनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले ७.२ मिटर लम्बाइ भएका २५+१ सिटर कम्फर्ट बस र २७+१ सिटर सिटी बस गरी दुई वटा मोडल प्रदर्शनीमा ल्याएको हो ।

यी बसहरूको सुरुवाती मूल्य १ करोड १४ लाख ५० हजार तोकिएको छ भने एक्स्पोका क्रममा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाखसम्मको विशेष छुट उपलब्ध गराइएको छ ।

ठूला विद्युतीय सवारी साधनको बढ्दो माग तथा वातावरणमैत्री सार्वजनिक यातायातलाई प्राथमिकता दिने सरकारी नीतिकै अनुरूप आयाम इन्टरकन्टिनेन्टलले यी बसहरू नेपाली बजारमा भित्र्याएको जनाएको छ ।

५ वर्ष वा २ लाख किलोमिटरसम्मको स्ट्यान्डर्ड वारेन्टीसहित उपलब्ध गराइने यी बसहरूमा ग्राहकले थप ३ वर्षको वारेन्टी विस्तार गर्न सक्ने सुविधा पनि छ ।

सार्वजनिक गरिएका बसहरू एयरकन्डिसनबिनाका रहे तापनि ग्राहकको मागअनुसार एयरकन्डिसन, लक्जरी सिट तथा ढोकाको संरचना थपघट गर्न सकिने व्यवस्था मिलाइएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले निकट भविष्यमै ७.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिटर बस तथा १२ मिटरका ५२ सिटर बसहरू पनि नेपाल ल्याउने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *