टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’ र नयाँ ‘टियागो ईभी’ लन्च गरेको छ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्सपो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। त्यसैगरी, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ। एक्सपोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा प्रदान गरेको छ ।
गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध भएको बताए । दुवै गाडी फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको जानकारी श्रेष्ठले दिए ।
ईभीको नेटवर्क विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि सिप्रदीले जोड दिँदै आएको उल्लेख गरेको छ । सिप्रदी ट्रेडिङका चिफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभी बिक्रीसँगै सम्बद्ध सेवाको सञ्जाल बिस्तार गरिरहेको प्रष्ट पारे । हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेको समेत उनले बताए ।