बाढीपहिरोले गर्दा देशभरका आधा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका ११ सडक अवरुद्ध रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । इलामको राजदुवालीमा सडक भासिँदा झापादेखि ताप्लेजुङसम्मको सडक बन्द भएको हो ।
बागमती प्रदेशको सिन्धुपाल्चोकमा अरनिको राजमार्गको चारकिलो, लिपिङ, डुम्रे र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको सम्भावनाका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । कान्ति ललितपुरको बागमती गाउँपालिका पाङदुरमा पहरिो खस्दा कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ ।
बाढीका कारण त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक पनि पूर्ण रुपमा बन्द भएको छ । गण्डकी प्रदेशको बागलुङको बेलबगरमा पहिरो आउँदा कालीगण्डकी करिडोर, लमजुङको बिमिरेभनज्याङमा पहिरो आउँदा मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिमको रिजेगार्ड खोलामा बाढी आउँदा भेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।