यही श्रावण महिनामा हुने नाइमा नेपाल मोबिलिटी एक्सपोलाई लक्षित गरी नेपाली अटोमोबाइल बजारमा नयाँ ब्रान्ड र तिनका इलेक्ट्रिक कार भित्रिने क्रम तीव्र भएको छ । विशेष गरी ह्याचब्याक र क्रसओभर सेगमेन्टलाई लक्षित गर्दै विभिन्न आधिकारिक वितरकहरूले अत्याधुनिक फिचर, शक्तिशाली ब्याट्री र आकर्षक डिजाइनका नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छन् ।
आरफक्स टी१ः लक्ष्मी ई–मोबिलिटीले नेपाली बजारमा भित्र्याउन लागेको आर्कफक्स टी१ एक प्रिमियम क्रसओभर/ह्याचब्याक मोडल हो । यस कारमा ४२.४ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । आकर्षक आधुनिक लुक्स र प्रिमियम फिचरका साथ आउन लागेको यो ईभीले युवा तथा प्रिमियम ह्याचब्याक पारखीहरूलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।
चेरी क्युक्यु३ः पायोनियर मोटोकर्पले भित्र्याउन लागेको चेरी क्यूक्यू३ ईभीमा ९० किलोवाट क्षमताको रियर–ह्वील ड्राइभ मोटर र ४१.२ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा उच्च सुरक्षाका लागि लेभल–२ एडासजस्ता उन्नत फिचरहरू समावेश गरिएका छन्, जसले यसलाई प्रविधिप्रेमी ग्राहकका लागि बलियो विकल्प बनाएको छ ।
लिपमोटर बी०३ः साङ्ग्रिला मोटर्सले ल्याउन लागेको लिपमोटर बी०३ मुख्य गरी दुईवटा ब्याट्री भेरियन्ट—३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरमा उपलब्ध हुनेछ । फरक–फरक ब्याट्री क्षमताका कारण दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा गर्न चाहने ग्राहकका लागि यो मोडल निकै व्यावहारिक हुने देखिन्छ ।
वुलिङ बिंगोः बजेट र इन्ट्री–लेभल सेगमेन्टमा लोकप्रिय रहेको वुलिङ बिंगोले नयाँ अपग्रेड गरिएका लाइटर प्रो भेरियन्टमार्फत कमब्याक गर्दैछ । यी भेरियन्टमा क्रमश ३१.९ र ३७.९ किलोवाट आवरको ब्याट्री प्याक तथा ५० किलोवाट क्षमताको मोटर जाडन गरिएको छ । परिमार्जित डिजाइन र नयाँ फिचरसहित आउने यी भेरियन्टले सहरी चालकहरूलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नेपाल आउने तयारीमा रहेका यी चारवटै विद्युतीय कारको मूल्य ३० देखी ४० लाख रुपैयाँको विचमा रहने अनुमान गरिएको छ । हाल यो सेग्मेन्टमा बीवाईडी एट्टो१, टाटा पन्च, नामी बक्स र प्रोटोन ईमास५ लायत मोडल उपलब्ध छन् । नयाँ कार भित्रिएसपछि यो सेग्मेन्टमा प्रतिस्पर्धा झनै चर्किने अनुमान गर्न सकिन्छ । यी चारवटै कारले एकपटकको सिंगल चार्जमा ३०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको दाबी छ ।