काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहँदा शुक्रबार अधिकांश स्थानमा बदली रहने र विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर यसको प्रभाव देखिएको हो।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि बदली छ भने मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति पनि देशभर बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।