म्याक्सस पिकअप सार्वजनिक, प्रिमियमभन्दा ४० लाख सस्तो

नेपाली बजारमा म्याक्ससको ‘ई टेरन – ९’ इलेक्ट्रीक पिकअपको सस्तो भेरियन्ट सार्वजनिक भएको छ ।

नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले ‘ई टेरन -९ ’ इलेक्ट्रीक पीकअपको कम्फर्ट भेरियन्ट बिक्री सुरू गरेको हो ।

कम्पनीले ई टेरन -९ कम्फर्टको मूल्य ८८ लाख रुपैयाँ निर्धारण गरेको छ, यो मूल्य पहिलो ५० जना ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

जुन यसअघि बिक्री हुँदै आएको प्रिमियम भेरियन्टभन्दा ४० लाख रुपैयाँ सस्तो हो, हाल ई टेरन -९ प्रिमियम भेरियन्टको मूल्य १ करोड २८ लाख रुपैयाँ छ ।

कम्पनीले ई टेरेन – ९ को केही फिचर हटाएर ल्याएसँगै मूल्य ह्वात्तै घटेको छ । ई टेरेन(९ कम्फर्ट भेरियन्टमा सनरुफ, मसाज सिट, एयर सस्पेन्सन जस्ता फिचर हटाइएको कम्पनीले जारकारी गराएको छ । यी बाहेक अन्य फिचर भने यथावत नै राखिएको छ ।

म्याक्ससको इलेक्ट्रीक पीकअपमा सेग्मेन्टकै ठूलो १०२.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ५६० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपमा अगाडि १२५ किलोवाट र रियरमा २०० किलोवाट गरी कुल ३२५ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा रहेको ब्याट्री प्याकलाई ११५ किलोवाटको डीसी चार्जरले ४२ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिने छ । यसले ११५ किलोवाटसम्मका डीसी चार्जर सपोर्ट गर्छ। यो पिकअपमा एक्टेरियर र इन्टेरियरमा ‘भेहिलक टु लोड’ सुविधा उपलब्ध छ ।

म्याक्ससको ई टेरन–९ को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८७४ एमएम छ । ३३०० एमएम लामो ह्वीलबेस रहेको पीकअपमा २५० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।

ई टेरेन ९ पिकअपमा अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड, भेन्टिलेटेड फ्रन्ट एण्ड रियर सिट,अटोमेटिक हेडलाइट र वाइपर जस्ता क्याबिन फिचर छन् ।

ई टेरन –९ मा सुरक्षाका लागि ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ दिइएको छ ।

साथै, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, अल टेरन मोड, ७ वटा एयरब्याग, अटोहोल्ड जस्ता फिचर छन् । म्याक्सस ई टेरन – ९ ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *