काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ। कम्पनीले गाडीको आधिकारिक सार्वजनिक तथा मूल्य घोषणा हुनुअघि नै ग्राहक लक्षित विशेष योजना समेत ल्याएको छ।
कम्पनीले ‘गेस एन्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस’ योजना सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत ग्राहकले नयाँ इ.मास ५ को सम्भावित बजार मूल्य अनुमान गर्न सक्नेछन्। कम्पनीले तोकेको लन्च मूल्य वा त्यसको सबैभन्दा नजिक मूल्य अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन्।
योजनामा सहभागी हुन ग्राहकले कम्पनीको विशेष वेबसाइटमा (https://emas5predict.proton-nepal.com/) गई आफूले रोजेको भेरियन्ट छनोट गर्नुपर्नेछ। त्यसपछि ‘प्राइस स्लाइडर’मार्फत अनुमानित मूल्य तय गरी पठाउन सकिने कम्पनीले जनाएको छ।
इ.मास ५ को ‘प्राइम’ भेरियन्टका लागि २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म मूल्य अनुमान गर्न सकिनेछ। त्यस्तै, ‘प्रिमियम’ भेरियन्टका लागि ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्मको दायरा तोकिएको छ।
कम्पनीका अनुसार योजनामा नियमानुसार सहभागी ग्राहकमध्ये लक्की ड्रमार्फत प्रत्येक भेरियन्टबाट पाँच–पाँच जना विजेता छनोट गरिनेछ। विजेताले योजनाका सर्त तथा नियमअनुसार आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउनेछन्।
यसैबीच, जगदम्बा मोटर्सले एक लाख रुपैयाँ बुकिङ रकम तोकेर इ.मास ५ को औपचारिक बुकिङसमेत खुला गरेको छ। ग्राहकले बैंक वा अनलाइन माध्यमबाट रकम भुक्तानी गरी आवश्यक कागजात सेल्स कन्सल्टेन्टलाई बुझाएर बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्। वेबसाइटमार्फत भुक्तानी भौचर अपलोड गरेर पनि गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ।
प्रोटोन र जिलीको सहकार्यमा विकास तथा उत्पादन गरिएको इ.मास ५ ले हालै मलेसियाको ‘अलायन्स डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स’मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ उपाधि जितेको थियो।
कम्पनीका अनुसार इ.मास ५ नेपालमा आफ्नो सेग्मेन्टमै पहिलो ‘रियर ह्विल ड्राइभ’ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हुनेछ। प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न गाडीमा पाँच प्रमुख विशेषता समावेश गरिएको कम्पनीको भनाइ छ।
नेपालमा विद्युतीय सवारीको बजार निरन्तर विस्तार भइरहेको र प्यासेन्जर गाडी बिक्रीमा ईभीको हिस्सा बढ्दै गएको अवस्थामा इ.मास ५ ग्राहकका लागि आकर्षक विकल्प बन्ने जगदम्बा मोटर्सको विश्वास छ।