अमेरिका–इरान तनाव चर्किँदा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ६ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिका–इरानबीच पुनः युद्ध चर्किन सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकैदिन करिब ६ प्रतिशतले बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको हो। सम्भावित द्वन्द्वका कारण आपूर्तिमा अवरोध आउन सक्ने अनुमानले लगानीकर्ताले तेल खरिद बढाएका छन्।

आयल प्राइस डटकमका अनुसार बुधबार अपराह्नसम्म अमेरिकी बेन्चमार्क डब्लूटीआई क्रुडको मूल्य ५.७१ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.५० अमेरिकी डलर पुगेको छ। गत साता यही तेलको मूल्य प्रतिब्यारेल ६७ डलरसम्म झरेको थियो।

यस्तै, एशियाली बेन्चमार्क मुर्बान क्रुडको मूल्य करिब ६ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ अमेरिकी डलर पुगेको छ भने विश्व बेन्चमार्क ब्रेन्ट क्रुड पनि बढेर प्रतिब्यारेल ७३.५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तेलको मूल्य तीव्र रूपमा बढेको थियो। त्यसपछि क्रमशः घट्दै आएको मूल्य फेरि अमेरिका–इरान तनाव बढेसँगै उकालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएसँगै यसको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको छ। इन्धन आयातमा निर्भर नेपालमा आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजनमा दबाब बढ्न सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *