यामाहाले भारतको प्रिमियम इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा प्रवेश गर्दै नयाँ एरोक्स – ई लन्च गरेको छ । यामाहाले पेट्रोलबाट चल्ने एरोक्स १५५ को प्लेटफर्ममा आधारित नयाँ एरोक्स – ई भारतीय बजारमा सार्वजनीक गरेको हो।
कम्पनीले पुरानो एरोक्सकै स्पोर्र्टी डिजाइनलाई निरन्तरता दिएर बजारमा ल्याएको एरोक्स – ई आधुनिक प्रविधि र प्योर इलेक्ट्रीक पावरट्रेनसहित बजारमा आएको छ । कम्पनीले एरोक्स -ईको मूल्य (एक्स शोरुम) २ लाख ८१ हजार ६०० भारतीय रुपैयाँ निर्धारण गरेको छ ।
यामाहाले यसलाई स्पोर्टी प्रदर्शनसँगै दैनिक प्रयोगका लागि उपयुक्त हुने प्रिमियम इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरेको छ । एरोक्स–ईमा १.५ किलोवाट आवर क्षमताका दुईवटा रिमुभेबल लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यो स्कुटरले एकपटकको फुलचार्जमा ११७ किलोमिटरसम्म आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।
स्कुटरमा जडान गरिएको इलक्ट्रीक मोटरले अधिकतम ९.४ किलोवाट पावर र ४८ एनएम टर्क उत्पादन गर्छ । पावर बुस्ट मोडमा यसको अधिकतम गति ९५.५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।
एरोक्स–ईमा इकोनोमी, स्ट्याण्डर्ड र पावर गरी तीनवटा राइडिङ मोड उपलब्ध छन् । जसले प्रयोगकर्तालाई आवश्यकता अनुसार प्रदर्शन र रेन्ज सन्तुलन गर्न मद्दत गर्छ ।
यसमा दिइएको ब्याट्रीलाई छुट्टाछुट्टै चार्ज गर्दा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज हुन करिब ३ घण्टा १० मिनेट समय लाग्नेछ । जस अन्तर्गत दुवै ब्याट्री एकसाथ चार्ज गर्दा भने ६ घण्टा २० मिनेट समय लाग्छ ।
यामाहाले एरोक्स- ईमा पूरा कलरफुल टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, टर्नबाइ टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्ट, वाइ कनेक्ट स्मार्टफोन कनेक्टिभिटी सिस्टम, राइड स्टाटिस्टिक्स, एलईडी लाइटिङ, कीलेस इग्निसन, रिभर्स मोड, ट्र्याक्सन कन्ट्रोल, सिंगल(च्यानल एबीएस, अलोय ह्वील, डिस्क ब्रेक लगायतका प्रिमियम फिचरहरू उपलब्ध गराएको छ ।
यामाहाले एरोक्स(ईलाई हाल ग्लोसी ह्वाइट कलरमा मात्र उपलब्ध गराएको छ । जसमा ब्ल्याक एक्सेन्ट र हल्का निलो ग्राफिक्स प्रयोग गरिएको छ ।