हेभी इक्विपमेन्ट मेकानिक्स तालिम बुटवलमा

दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले बुटवलमा एक महिने ‘हेभी इन्जिनियरिङ इक्विपमेन्ट मेकानिक्स एडभान्स’ तालिम सुरु गरिएको छ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही–लुम्बिनीको आयोजना तथा नेपाल सरकार रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय, खरिपाटी भक्तपुरको सहकार्यमा सञ्चालन गरिएको तालिमको उद्घाटन बुटवल–२ उजिरसिंहनगर (मेनाबजार) स्थित विश्वकर्मा बाबा प्रशिक्षण हलमा सम्पन्न भएको हो।

तालिममा नेपाली सेनाका १५ जना हेभी इक्विपमेन्ट चालक तथा मर्मतकर्ता सहभागी छन्।

आयोजकका अनुसार एकमहिने तालिममा हेभी इन्जिनियरिङ उपकरणको सञ्चालन, मर्मत तथा आधुनिक प्रविधिसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।

तालिम पूरा गरेपछि सहभागी सैनिकहरूले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिँदा वा देशका जुनसुकै स्थानमा कार्यरत रहँदा आफ्ना हेभी सवारी तथा उपकरणको सामान्य मर्मतसम्भार आफैं गर्न सक्ने दक्षता हासिल गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सीपमूलक शिक्षा र व्यावसायिक तालिमले युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउने बताइन्।

उनले स्थानीय तहले दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्दै वर्तमान समयमा प्रमाणपत्रभन्दा सीपको महत्व बढेको बताइन्।

सीप हासिल गरेका युवाले रोजगार खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने क्षमता विकास गर्न सक्ने उनको भनाइ थियो।

एसोसिएसनका अध्यक्ष प्रेम गौचनले आधुनिक हेभी इक्विपमेन्ट मर्मत क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए।

उनले अटोमोबाइल क्षेत्रमा दक्ष प्राविधिकको अभाव रहेको उल्लेख गर्दै यस्ता तालिमले आवश्यक जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सीप विकास तालिम केन्द्र बुटवलका कार्यक्रम प्रमुख गिरिराज ज्ञवालीले सीपमा आधारित तालिम अहिलेको आवश्यकता भएको बताउँदै सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सहभागीलाई आग्रह गरे।

उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने बताए।

नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय, खरिपाटीका प्राविधिक उपसेनानी सम्भत बस्नेतले सैन्य शिक्षालयमा हासिल गरिएको प्राविधिक अनुभव नागरिक क्षेत्रमा हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए।

735482918_3980029898800276_5375244660704433882_n.jpg

प्रमुख प्रशिक्षक राधाकृष्ण देउलाले तालिममा हेभी इक्विपमेन्टको मर्मत, सञ्चालन र आधुनिक प्रविधिबारे व्यवहारिक ज्ञान प्रदान गरिने बताए।

प्रशिक्षक इन्जिनियर विनायक गैरे, इन्जिनियर मोहम्मद सिद्धिकी, केशव वली, टेकराज कुमाल र शूरबहादुर थापाले गुणस्तरीय तथा व्यवहारिक प्रशिक्षणमार्फत दक्ष प्राविधिक उत्पादनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले नेपाली सेनासँगको सहकार्यमा हरेक वर्ष यस्ता प्राविधिक तालिम सञ्चालन गर्दै आएको महासचिव पुनित पाेखरेलले जनाए ।

तालिममा व्यवहारिक अभ्यासलाई विशेष प्राथमिकता दिइनेछ भने यसले हेभी इन्जिनियरिङ उपकरण सञ्चालन तथा मर्मत क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्याेग उपाध्यक्ष ध्रुव भट्टराइले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *