नेपाल सरकार र ट्राफिक प्रहरीले सडक सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सवारी साधनमा गैरकानुनी रूपमा राखिएका कालो सिसा (टिनटेड ग्लास) र अनधिकृत स्टिकरहरू हटाउने अभियानलाई तीव्र बनाएको छ ।
सरकारले किन चाल्यो हटाउने कदम ? फाइदाहरू हुँदाहुँदै पनि सुरक्षा संवेदनशीलताका कारण सरकारले यसमा कडाइ गरेको हो ।
गृह मन्त्रालय र ट्राफिक प्रहरीका अनुसार कालो सिसाको आडमा सवारी साधनभित्र अवैध हतियार, लागूऔषध ओसारपसार, वा अपहरण जस्ता आपराधिक क्रियाकलाप लुकाउन सजिलो हुने गरेको पाइएको छ ।
त्यसैगरी, रात्रिकालीन समयमा वा खराब मौसममा कालो सिसाका कारण चालकको ’भिजिबिलिटी’ कमजोर भई सडक दुर्घटनाको जोखिम बढ्नो गृह प्रशासनको ठहर छ ।
जथाभावि टाँसिने ठूला र अनधिकृत स्टिकरहरूले अन्य चालकहरूको ध्यान भङ्ग गराउने र ट्राफिक नियमनमा बाधा पु-याउने प्रहरीको निष्कर्ष छ ।
के छ सजायको व्यवस्था? काठमाडौँ उपत्यका लगायत देशैभरि थालिएको विशेष चेकिङका क्रममा अनुमति विना कालो सिसा वा स्टिकर राखेको पाइएमा स्थलगत रूपमै त्यसलाई निकाल्न लगाइने र सवारी धनीलाई आर्थिक जरिबाना समेत गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
विशेष सुरक्षा थ्रेट भएका विशिष्ट व्यक्ति (भीआईपी) र कूटनीतिक नियोगका सवारी साधनले भने गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र यस्तो सिसा प्रयोग गर्न पाउनेछन् ।