लिलामी प्रक्रिया अघि बढाएको स्कुटर चाँडै नामसारी हुने

हिमालयन बैंकले विभिन्न समयमा कर्जा लिएर साँवा ब्याज नतिर्ने भुक्तानी नगर्ने ऋणीको स्वामित्वमा रहेका ३३७ वटा भेस्पा अप्रिलियाका स्कुटर तान्ने भएका छन् ।

बैंकले १५ दिने सूचना जारी गर्दै धितोमा रहेका ती सवारी साधन नियन्त्रणमा लिई लिलामी प्रक्रिया अघि बढाउने जानकारी दिएको हो ।

बैंकका अनुसार ती स्कुटरहरू अहिले तेस्रो पक्षले प्रयोग गर्दै आएका छन् । अर्थात् जेमिनीले ग्राहकलाई बेचिसकेको छ । तर, ग्राहकको नाममा भने नामसारी भएको छैन ।

सामान्यतया नगदमै सवारी साधन खरिद गर्दा पनि बिक्रेताले ग्राहकको नाममा नामसारी गरिदिन १५ दिनदेखि १ महिनासम्म लगाउने गरेका छन् । किस्ताबन्दीका खरिद गर्दा भने ऋण चुक्ता नभएसम्म ग्राहकको नाममा ब्लूबुक आउँदैन ।

यहाँ जेमेनीले बिक्री गरेका ३३७ स्कुटर मध्ये कति नगद र कति फाइनान्स सुविधामा बिक्री भएका थिए भन्ने खुलेको छैन ।

तर, नगद वा किस्ताबन्दी जेमा खरिद गरेको भए पनि कम्पनीले नामसारी नगरिदिने हो भने ग्राहक फस्ने देखिन्छ ।

कम्पनीका संचालक श्रेष्ठले भने ग्राहकलाई आफूले धोका नदिने र आँत्तिनु नपर्ने बताए ।

उनले आफूले जग्गा बेचरै भए पनि बैंकको ऋण तिर्ने र ग्राहकलाई चाँडै स्कुटर नामसारी गरिदिने बताए ।

‘मैले बैंकबाट ऋण लिएको थिएँ । कोरोना, आर्थिक मन्दी लगायत समस्याले समयमै पूरै तिर्न सकिएन ।

अहिले पनि बैंकको सम्पर्कमै छु ।

थप जग्गा धितो राखेर ऋण तिर्न प्रक्रिया अघि बढाइसकेको छु,’ उनले भने, ‘ग्राहक आँत्तिनु पर्दैन ।

चाँडै बैंकको ऋण तिरी सबै ग्राहकलाई स्कुटर नामसारी गरिदिन्छु ।

तिर्न बाँकी भए सवारी कर समेत मैले नै तिरिदिन्छु । सबै जना ढुक्क हुनुभए हुन्छ ।’

त्यस्तै, बैंकले श्रेष्ठ नै संचालक तथा जमानी रहेको हाइवे अटो कन्सर्न प्रालि, जुपिटर अटो कन्सर्न र हाइवे ह्वील्स अटो प्रालिको नाममा रहेका १९ वटा कार पनि जफत गरी लिलामी गर्ने सूचना जारी गरेकेा छ ।

जेमिनी लाइफ स्टाइल्स दुगड ग्रुपको साविकको भेस्पा अप्रिलियाको बुटवलको आधिकारिक डिलर हो । यसको संचालक दीपक श्रेष्ठ र विष्णुकुमारी डुम्रे हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *