पोखरामा इ–मोबिलिटीमा करिब साढे ५ अर्ब लगानी हुने

पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

विश्वव्यापी जलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ ।

संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन गर्न महानगरले ठूलो वैदेशिक साझेदारी भित्र्याएको जानकारी दिए ।

‘दिगो सहरी यातायात व्यवस्थापन र विद्युतीय सवारीसाधन (इ–मोबिलिटी) परियोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) र ग्रीन क्लाइमेट फन्डको साझेदारीमा नेपाललाई १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण प्राप्त भएको छ ।

सो रकममध्ये पोखरामा मात्रै ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) लगानी हुनेछ,’ उनले भने ।

पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै एडीबीले यस परियोजनालाई प्राथमिकतामा राखेको उनले बताए ।

उक्त परियोजना अन्तर्गत विद्युतीय गाडीको प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायातको डिजिटलाइजेसन र व्यवस्थित बस स्टप लगायतका पूर्वाधार निर्माण गरिने योजना महानगरको छ ।

नासा नेपाल, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्, पोखरा भिजिट इअरको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सफल बनाउन ओमोडा एण्ड जेको, फोटोन, बिवाइडी, टिभिएस आइक्युब इलेक्ट्रिक, प्रतिभा सेकेण्डरी स्कुल, टियागो इभी, केइ, युनाइटेड लुब्रिकेन्ट्स, माछापुच्छ्रे बैंक, पोखरा फाइनान्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक, कामना सेवा विकास बैंक, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि, माउन्ट कैलाश रिसोर्ट, परिचय एडभरटाइजिङ, पब्लिक फोर के टेलिभिजनले साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *