सरकारको नीति अनुसार नेपाल आयल निगमले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गरी बिक्री वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निगमले स्वदेशमै उत्पादित इथानोल खरिद गर्नका लागि इच्छुक स्वदेशी उत्पादकहरूसँग आवेदन माग गरेको छ।
यसका लागि चिनी उद्योगको खुदो (मोलासेस), नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल र सडेगलेका अन्नजस्ता कृषि अवशेषलाई कच्चापदार्थको रूपमा प्रयोग गर्न सकिने छ।
‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश २०८२’ अनुसार यो नीतिले स्वदेशी उद्योगको प्रवर्द्धन, रोजगारी सिर्जना र इन्धन आयातमा देशको निर्भरता घटाउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
उत्पादित इथानोल आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने, खाद्यान्नका रूपमा प्रयोग हुने अन्न प्रयोग गर्न नपाइने र खरिद गर्नुअघि प्रत्येक खेपको कडा गुणस्तर परीक्षण गरिने निगमले स्पष्ट पारेको छ।