पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलका लागि सिधा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ।
मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर जहाजमार्फत भारत लगिएको हो।
चार्टर गरिएको उक्त विमानमा बिरामीसहित तीन जना स्वास्थ्यकर्मी र दुई जना आफन्त गरी कुल ६ जना यात्रु सवार रहेको विमानस्थल कार्यालयले जनाएको छ।
नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका बिरामीलाई परिवारको आग्रहमा स्वदेश लगिएसँगै पोखराबाट भारतका लागि यो पहिलो सिधा उडान बनेको छ।
वि सं २०७९ पुस १७ गते उद्घाटन भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको यस विमानस्थलबाट यसअघि चीन र भुटानमा मात्र चार्टर उडान भएका थिए।