सिमरामा बिवाइडी एटो २ गाडी विस्फोट भएको भन्दै सामाजिक संजालमा फैलाइएका भिडियो र पोस्टहरू पूर्ण रूपमा भ्रामक र गलत भएको कम्पनी र प्रहरीले स्पष्ट पारेका छन्।
नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार यो घटना कुनै विस्फोटका कारण भएको होइन।
कम्पनीले टिकटक लगायतका माध्यममा आएका दाबीहरू तथ्यहीन भएको बताउँदै यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार गत शनिबार साँझ करिब ५:५० बजे परीक्षण (टेस्ट ड्राइभ) का क्रममा रहेको उक्त गाडीले सडक पार गर्दै गरेका एक पैदलयात्रीलाई जोगाउन खोज्दा नियन्त्रण गुमाएको थियो।
त्यसपछि गाडी सडक किनारको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो।
यस दुर्घटनालाई लिएर सामाजिक संजालमा विद्युतीय गाडीको सुरक्षामाथि अनेकौँ प्रश्न उठाइए पनि प्रहरी र कम्पनी दुवैले यो केवल एउटा सामान्य सडक दुर्घटना मात्र भएको पुष्टि गरेका छन्।