नेपाल-चीन जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत छुसाङदेखि घमीसम्मको सडक कालोपत्र गर्न अर्थ मन्त्रालयले ३ अर्ब १५ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको छ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्रदेखि लोघेकर दामोदरकुण्डसम्मको करिब ४० किलोमिटर सडक स्तरोन्नतिका लागि बहुवर्षीय स्रोत सहमति प्राप्त भएसँगै अब निर्माण कार्यले गति लिने भएको छ।
राष्ट्रिय योजना आयोगको सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले यो बजेट स्वीकृत गरेको हो, जसले गर्दा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया सुरु गर्न बाटो खुलेको छ।
यसअघि कागबेनीदेखि छुसाङसम्मको खण्डमा कालोपत्रका लागि २६ करोड ८७ लाखको ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ।
यो सडक आयोजना सम्पन्न भएपछि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध बलियो हुनुका साथै उत्तरी कोरला नाकासम्मको पहुँच सहज र सुरक्षित हुने विश्वास गरिएको छ।