दक्षिण कोरियाली अटो निर्माता हुन्डाईले भारतमा आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको छ। यस अवसरमा कम्पनीले सन् २०३० सम्ममा २६ वटा नयाँ कार र अपडेटेड मोडलहरू बजारमा ल्याउने घोषणा गरेको छ।
सन् १९९६ देखि भारतमा यात्रा सुरु गरेको हुन्डाईले हालसम्म १ करोड ३५ लाखभन्दा बढी कार बिक्री गरिसकेको छ भने ३९ लाख वटा कार नेपालसहित विश्वका १५० देशमा निर्यात गरेको छ।
कम्पनीले आगामी ५ वर्षका लागि ४ खर्ब ५० अर्ब भारु लगानी गर्ने योजना बनाएको छ, जसले उत्पादन क्षमता बढाउन र विद्युतीय सवारी (EV) विकासमा मद्दत पुर्याउनेछ।
हुन्डाईले भारतमा ८२ प्रतिशत स्थानीय पार्टपुर्जाहरू प्रयोग गर्दै आएको छ र यसका सबै प्लान्टहरू नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने गरी वातावरणमैत्री बनाइएका छन्।
नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कारहरू बिक्री गर्दै आएको छ, जसमा क्रेटा र भेन्यू जस्ता लोकप्रिय मोडलहरू नेपालमै एसेम्बल समेत हुन थालेका छन्।
हाल भारतभर १५ सयभन्दा बढी शोरुम र १६ सयभन्दा बढी सर्भिस सेन्टरमार्फत हुन्डाईले ७८ प्रतिशत जिल्लाहरूमा आफ्नो बलियो उपस्थिति जनाएको छ।